नेपाल–भारत नक्शा विवादका बीच राजदूत आचार्यले भेटे भारतीय सुरक्षा सल्लाहाकार

डिसी नेपाल
२४ माघ २०७६ १४:३९

काठमाडौं। नेपाल र भारतबीच नक्शा विवादका कारण पछिल्लो दिन सम्बन्धमा उतार–चढाव आइरहेका बेला दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले भारतका राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभालसँग भेट गरेका छन्।

राजदूत आचार्यले डोभाललाई उनकै कार्यकक्षमा फेब्रुअरी ५ मा भेटेको दिल्लीस्थित दूतावासले शुक्रबार सार्वजनिक गरेको छ। दूतावासले दुई अधिकारीबीच सौहार्द वातावरणमा विभिन्न विषयमा छलफल भएको औपचारिक जानकारी दिएको छ।

भारतले हालै जारी गरेको विवादित नक्शामा नेपाली भूमिसमेत समेटिएपछि नेपालमा त्यसको विरोध भइरहेको छ भने नेपाल सरकारले यो सिवषयमा भारतसँग लगातार वार्ताको पहल गरिरहेको छ। यही परिपेक्ष्यमा राजूदत आचार्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सबैभन्दा निकट मानिएका अधिकारी डोभालबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

यो विषयमा पटक पटक भारतले नेपाली भूमि नमिचेको बताउँदै आएको छ भने नेपालले सुगौली सन्धिअनुसार कायम गरिएको सीमा लागू हुनुपर्ने दावी गरिरहेको छ। हालै सम्पन्न सत्तारुढ दल नेकपाको केन्द्रीय कमिटी बैठकले पनि भारतसँगको नक्शा र सीमा विवाद सल्ट्याउन सरकारलाई निर्देशन दिएको थियो।

दिल्लीस्थित राजदूतावासले दुई अधिकारीबीच के कुरा भयो भन्नेबारे औपचारिक जानकारी नदिए पनि नक्शा विवादबारे छलफल भएको स्रोतको दावी छ। यस्तै नेपाल–भारत प्रवुद्ध समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्री मोदीले समय नदिएको भन्दै अलपत्र परिरहेको छ। यो विषयमा पनि राजदूत आर्चाय र सुरक्षा सल्लाहाकार डोभालबीच कुरा भएको जनाइएको छ। स्मरण रहोस राजदूत आचार्य आफै पनि सो ईपीजीका एक सदस्य हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *