पत्रकार आचारसंहिता पालना गर्ने उद्घोषका साथ संगठित भए अनलाइन टेलिभिजनकर्मी

डिसी नेपाल
२४ माघ २०७६ १९:४५

काठमाडौं। अनलाईन टेलिभिजन सञ्चालकहरुको काठमाडौमा भएको प्रथम भेलाले २५ सदस्यीय तदर्थ समिति गठन गरेको छ। शुक्रबार भएको भेलाले आचारसंहिता तथा स्वनियमन समिति, सदस्यता समिति र विधान मस्यौदा समिति बनाउने निर्णय पनि भेलाले गरेको छ। संस्थाको नाम र सवै समितिका लागि जिम्मेबारी भने अर्को बैठकबाट तोकिने भेलाले निर्णय गरेको छ।

विज्ञहरुसँग अन्तरक्रिया समेत गरिएको भेला मार्फत् उनीहरुले स्वनियमन गर्ने र संगठित हुने अठोट पनि व्यक्त गरेका छन्।

भेलाले अनलाईन टेलिभिजनकर्मीलाई समस्या पर्दा एकजुट भएर सहयोग गर्ने, पेशागत हकहित संरक्षणसँगै पेशागत गुणस्तर बृद्धिका लागि निरन्तर कार्यक्रमहरु गर्ने निर्णय पनि गरेको छ। भेलामा ९४ जना अनलाईन टेलिभिजन संचालकहरु सहभागी भएका थिए।

भेलामा विज्ञका रुपमा बोल्दै पत्रकार महासंघका पूर्वअध्यक्ष तथा फ्रिडम फोरमका संस्थापक अध्यक्ष तारानाथ दाहालले राज्यको नियन्त्रणभन्दा पनि स्वनियमनको पक्षमा उभिन अनलाईन टेलिभिजन सञ्चालकहरुलाई सुझाव दिए।
महासंघका अर्का अध्यक्ष तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले आफूले प्रस्तुत गरेका सामग्रीप्रति आफ्नो जिम्मेबारीबोध गरेमा यस क्षेत्रका विकृति स्वतः कम हुने धारण राखे। उनले जिम्मेबार पत्रकारिताका मर्मलाई ख्याल गरेमा अनलाईन टेलिभिजनको भविश्य उज्ज्वल रहेको बताए।

प्रेस काउन्सीलका पूर्व अध्यक्ष तथा बरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीले अन्य मिडिया सरह काम गर्ने प्रतिबद्धता गरेमा त्यही अनुसारको मान्यता दिनुपर्ने विचार राखे। अनलाईन पत्रकार संघका संस्थापक अध्यक्ष प्रवेश सुवेदीले संगठित भएमा पेशालाई व्यवस्थित गर्न, सहयोग तथा अनुभव आदानप्रदान गर्न र नीतिगत व्यवस्थाका लागि सजिलो हुने भएकाले संगठित हुनु उपलब्धिमुलक कार्य भएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *