भारतसँगको एकदिवसीय सिरिज न्युजिल्याण्डलाई

एजेन्सी । भारतसँगको दोस्रो एक दिवसिय खेलमा घरेलु टोली न्युजिल्यान्ड २२ रनले विजयी भएको छ । योसँगै तीन ओडीआई सिरिज घरेलु टोली न्युजिल्यान्डले एक खेल अगावै २–० ले जितेको छ । जितको लागि २ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको भारत ४८.३ ओभरमा अल आउट हुँदै २ सय ५१ रनमा समेटियो ।
भारतका अलराउन्डर रविन्द्र जडेजाले ७३ बलमा २ चौका र १ छक्का सहित ५५ रनको योगदान दिए । युवा ब्याट्सम्यान श्रेयर ऐर ५७ बलमा ७ चौका र १ छक्का सहित ५२, पृथ्वी श २४, मयंक अग्रवाल ३, विराट कोहली १५, लोकेश राहुल ४ रनमा आउट भए । नवदीप सैनीले ४९ बलमा ५ चौका र २ छक्का सहित ४५, शार्दुल ठाकुर १८ र युजभेन्द्र चहल १० रनमा आउट भए ।
न्युजिल्यान्डका हशिम बेनेट टिम साउदी, काइल ज्यामीसन र कोलिन डी ग्रान्डहोमले २–२ विकेट लिए । त्यसअघि इडेन पार्कमा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७३ रन बनाएको थियो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले ७९ बलमा ८ चौका र ३ छक्का सहित सर्वाधिक ७९ रनको योगदान दिए ।
त्यस्तै अनुभवी ब्याट्सम्यान रस टेलर ७४ बलमा ६ चौका र २ छक्का सहित ७३ रनमा अविजित रहे । हेनरी निकोलस ४१, काइल ज्यामीसन २५, टम ब्लन्डेल २२, टम लेथम ७, जेम्श निशम ३ र कोलिन डी गान्डहोमले ५ रन जोडे ।
भारतका स्पिनर युजभेन्द्र चहलले १० ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए । शार्दुल ठाकुर २ र रविन्द्र जडेजाले १ विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्डले भारतलाई ४ विकेटले हराएको थियो । तेस्रो तथा अन्तिम खेल मंगलबार हुने छ ।
Facebook Comment