अमेरिकामाथि नेपालको ऐतिहासिक जीत

काठमाडौं । आइसीसी विश्वकप लिग २ मा नेपालले अमेरिकामाथि ऐतिहासिक जीत हात पारेको छ । नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको हो । नेपालको यो आफ्नो होमग्राउण्डमा पहिलो एकदिवसीय जीत हो । नेपालले दिएको १९१ रनको लक्ष्य पच्छ्याएको अमेरिका ४४.१ ओभरमा १५५ रनमा अलआउट भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो । नेपालका लागि कुशल मल्ल र विनोद भण्डारीले अर्धशतक बनाए । ५० रन बनाएका कुशल मल्लले विश्वरेकर्ड समेत बनाए । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको विश्वरेकर्ड बनाएका हुन् । उनले नेपालकै रोहित पौडेलको रेकर्ड तोडे ।
विनोद भण्डारीले ५९ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २१, पारस खड्काले १९, करण केसीले १२ सुसन भारीले ११ रन बनाए । अमेरिकाका लागि क्यामरन स्टेभेन्सनले ३ विकेट लिए । सौरभ नेत्रावल्कर र रोस्टी थेरोनले २–२ विकेट दिए । एल्मोर हचिन्सन, इयान होल्याण्ड र करिमा गोरेले १–१ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले ४४.१ ओभरमा १५५ रन मात्र बनाउन सक्यो । अमेरिकाको लागि इयान होल्याण्डले सर्वाधिक ७५ रन बनाए । क्यामरन स्टेभेन्सनले १९ र करिमा गोरेले १० रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालको लागि करण केसीले ४, सन्दिप लामिछाने २ र सुसन भारीले ३ विकेट लिए । कुशल मल्लले १ विकेट लिए ।
जितसँगै नेपालले विश्वकप लीग–२ मा खाता खोलेको छ। नेपालले २ खेलमा २ अंक जोडेको छ।
Facebook Comment