नेपालले अमेरिकालाई हराउँदा पनि देखिए यस्ता कमजोरी

काठमाडौं। काठमाडौंमा जारी आईसीसी क्रिकेट विश्वकप लीग–२ मा नेपालले शनिबार घरेलु भूमिका अमेरिकालाई पराजित गर्दै पहिलो सफलता हात पार्दा पनि नेपालका कमजोरी दोहोरिए।
नेपाल ब्याटिंगमा कमजोर रहेको सबैलाई थाहाछ। शनिबार बलिंगकै कारण नेपालको जित सम्भव भयो। तर, बलिंगमा पनि केही चुक देखियो।
हामीले यहाँ नेपालको खेलमा देखिएका केही कमजोरी केलाउने प्रयास गरेका छौं।
ओपनिंग
नेपाल र अमेरिकाबीचको खेलमा पनि नेपालको परम्परागत आपनिंग कमजोरी जारी रह्यो। पहिलो खेलमा नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्काले ओपनिंग गरेका थिए। जसमा ४ रन जोड्दा दुबै ओपनर पेभेलियन पुगिसकेका थिए। शनिबार अमेरिकासँगको खेलमा नेपाल मल्ल र सुवाष खकुरेलको जोडीमा मैदानमा आयो। लामो समयपछि घाइते भएका शरद भेषवाकरको स्थानमा टिममा परेका खकुरेल पनि पीचमा टिक्न सकेनन्। उनी ३ ओभर १ बलमा टिमको स्कोर ६ रन हुँदा स्लीपमा क्याच आउट हुन पुगे। अर्थात नेपालको ओपनिङ पार्टनरसिप ६ रनको मात्र रह्यो।
मुख्य खेलाडीको भूमिका कमजोर
ओपनर खकुरेल आउट भएपछि चौथो ओभरमै पारस खड्का वन डाउनमा मैदानमा आए। पीचमा ज्ञानेन्द्र र पारसको जोडी थियो। जुन नेपालको सबैभन्दा बलियो र मुख्य ब्याटिंग जोडी हो। तर, यो जोडीको पनि फ्लप शो जारी रह्यो। सुस्त ब्याटिंग गरेका दुबैले १३ ओभर ५ बलमा टिमको स्कोर ४६ पुर्याए। ४० रनको पार्टनरसिप हुँदा मल्ल ३९ बलमा २१ रन बनाउँदा आउट भए।
सबैभन्दा भरपर्दो खेलाडीको विशेषण पाएका दिपेन्द्र सिंह ऐरी ज्ञानेन्द्र आउट भएपछि १४ औं ओभरमा मैदानमा आए। उनले आफ्नो क्षमताअनुसार प्रदर्शन गर्न सकेनन्। १६ ओभर १ बलमा टिमको स्कोर ४७ हुँदा उनी शून्यमा आउट भए।
अब नेपालको इनिङ्ग्स धराशायी बनिरँदा सबैभन्दा अनुभवी पारसको काँधमा ठूलो जिम्मेवारी थियो। तर, उनी १८ औं ओभरको अन्तिम बलमा आउट भए, टिमको स्कोर ४७ मा ४ विकेट भयो। पारसले ५२ बल खेलेर १९ रन बनाए।
यसपछि मैदानमा आएका आरिफ शेख पनि २ रनमा आउट हुँदा नेपालको स्कोर २० ओभर ५ बलमा ४९ रन बनाउँदा ५ विकेट गुमाएको अवस्था थियो। यसरी मुख्य पाँच ब्याट्सम्यान रन नबनाइ आउट हुँदा नेपालले चुनौतिपूर्ण लक्ष्य दिने अवसर गुमायो। तर, पहिलो ओडीआई खेलिरहेका कुसल मल्ल र विनोद भण्डारीले दुबै अर्धशतक बनाएपछिमात्र नेपालले १९० रनको चुनौतिपूर्ण स्कोर बनायो।
आक्रामकताको कमी
नेपालको कमजोरी ब्याटिंगमा मात्र होइन, बलिंगमा पनि देखियो। लो स्कोर खेल जहिले पनि तनावपूर्ण हुने गर्छ। तर, शनिबार नेपालले बलिंग शुरु गर्दा अमेरिका शुरुदेखि नै दबाबमा रह्यो। जुन नेपालको बलिंगको सबल पक्ष हो। अमेरिकाले शुरुदेखि नै विकेट गुमायो। उसले १० ओभर १ बलमा २७ रन बनाउँदा महत्वपूर्ण ५ विकेट गुमाइसकेको थियो। अब यहाँ नेर नेपालले आक्रामक रणनीति अपनाउनुपर्ने थियो। अमेरिकालाई जतिसक्यो छिटो अलआउट गर्ने आक्रामक फिल्डिंग र बलिंग गर्नुपर्ने थियो। तर, मैदानमा सुस्त बनेको नेपालले छैटौं विकेट लिन १६ ओभर ४ बलसम्म कुुर्न पर्यो। अमेरिकाले ५० रन बनाउँदा छैटौं विकेट गुमायो। नेपालले आफ्नो सुस्तता फेरि पनि जारी राख्यो।
अमेरिकाले ७ औं विकेट ६५ रन बनाउँदा गुमायो। यसपछि पनि अमेरिकाले खेल लम्ब्याइरह्यो। उसले ८ औं विकेट गुमाउँदा टिमको स्कोर ३२ ओभर ४ बलमा ११४ थियो। यहाँनेर पनि अमेरिकाको जितको सम्भावना कायमै थियो। नेपालले आक्रामक रणनीत नअपनाउँदा अमेरिकाले खेल लम्ब्याएको थियो। जब ९ औं विकेटका रुपमा अमेरिका आईजी हल्याण्ड ७५ रन बनाएर आउट भए अनिमात्र नेपालको जित निश्चित बन्यो।
Facebook Comment