पहिलो ‘हेटौँडा रन’सम्पन्न

हेटौँडा । वाग्मती प्रदेश सरकारको आयोजनामा आज हेटौँडामा बृहत् दौड प्रतियोगिता ‘हेटौँडा रन’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा हेटौँडा रन कार्यक्रम गरिएको हो । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन वर्षलाई सफल बनाउन हेटौँडामा एकैपटक हजारौँ प्रतियोगीलाई दौडाइएको हो।
पहिलो ‘हेटौँडा रन’ प्रतियोगितामा पुरुषतर्फको १० किलोमिटर दौडको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिठ्ठी बजाएर उद्घाटन गरे भने महिलातर्फको पाँच किलोमिटर दौडको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपाल र तीन किलोमिटर मनोरञ्जनात्मक दौडको हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले उद्घाटन गरे ।
पर्वतीय खेलकूद महासङ्घ नेपाल वाग्मती प्रदेशको संयोजनमा पहिलोपटक हेटौँडामा गरिएको कार्यक्रममा धेरैको उत्साहजनक सहभागिता रहेको महासङ्घका प्रदेश अध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामाले जानकारी दिईन् ।
पुरुषतर्फको १० किलोमिटर दौडमा सशस्त्र प्रहरीका अजितकुमार यादव प्रथम भएर नगद रु ५० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरे । नेपाली सेनाका टङ्क कार्की द्वितीय भएर नगद रु ३० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी सशस्त्र प्रहरीका गणेशसिंह ठकुरी तृतीय हुँदै नगद रु २० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल हुनुभयो । प्रतियोगितामा शिव रायमाझी चौथो र जीवन लामा पाँचौँ भए । उनिहरुले क्रमशः रु १० हजार र रु पाँच हजार प्राप्त गरे ।
महिलातर्फको पाँच किलोमिटर दौडमा सन्तोषी श्रेष्ठले प्रथम हुँदै रु ५० हजार नगदसँगै शिल्ड तथा प्रमाणपत्र प्राप्त गरे । उक्त प्रतियोगितामा नेपाल प्रहरीकी राजपुरा पछाईं द्वितीय, नेपाली सेनाकी सरस्वती भट्टराई तृतीय, नेपाल प्रहरीका विर्सना कुमाल चौथो र जुनेली सुनार पाँचौँ भए । उनिहरुले क्रमशः रु ३० हजार, २० हजार, १० हजार र पाँच हजार पुरस्कार प्राप्त गरेको पर्वतीय खेलकूद महासङ्घका सचिव सफल अधिकारीले जानकारी दिए । मनोरञ्जनात्मक दौडमा हजारौँको सङ्ख्यामा सहभागिता रहेको उनले बताए । भ्रमण वर्षलाई स्वागत गर्दै खेलका माध्यमबाट पनि पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।
Facebook Comment