प्रविधियुक्त शिक्षाबिना मुलुकको विकास असम्भव : अध्यक्ष तिमिल्सिना

डिसी नेपाल
२५ माघ २०७६ १९:४९

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकले आर्थिक समृद्धि हासिल गर्नका लागि स्वरोजगार बनाउने व्यावसायिक शिक्षा अहिलेको आवश्यकता भएको बताएका छन्। पर्वतको कुश्माबजारस्थित गुप्तेश्वर बहुमुखी क्याम्पसको २८ औँ वार्षिकोत्सव तथा २६औँ साधारणसभाको शनिबार उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले युवालाई स्वरोजगार बनाउन सक्ने व्यावसायिक शिक्षाबाट मात्रै मुलुकले समृद्धि हासिल गर्न सक्ने बताएका हुन्।

उनले स्नातक र स्नातकोत्तर पढे पनि रोजगारी पाउन नसकेर विदेशमा भाँडा माझ्न जानुपर्ने बाध्यताको अन्त्य गर्नु अहिलेको आवश्यकता रहेको बताए । “अहिले वर्षेनी लाखौँ युवाहरु उच्च शिक्षा हासिल गरेर श्रमबजारमा प्रवेश गरे पनि रोजगारी पाउन सकिरहेका छैनन्”, अध्यक्ष तिमिल्सिनाले भने, “युवाहरुलाई स्वदेशमै रोजगार बनाउन सक्ने व्यावसायिक शिक्षा दिने शैक्षिक संस्थाहरुको खाँचो मुलुकका लागि छ ।”

तीन दशकअघिसम्म पढेलेखेका युवाहरुले रोजगारी पाउन कठिन नभए पनि अहिले शिक्षक र कर्मचारी बनेर मात्रै बन्न खोजेर सबै रोजगार बन्न नसकिने धारणा अध्यक्ष तिमिल्सिनाको थियो । आफैँले उद्यम गरेर अरु धेरैलाई रोजगार बनाउनका लागि पनि व्यावसायिक शिक्षाको आवश्यकता रहेकामा उनले जोड दिए।

अहिले मुलुकका धेरै सामुदायिक क्याम्पसहरु न्यून विद्यार्थी सङ्ख्या र आर्थिक अभावमा गुज्रदै गएको चर्चा गर्दै समयअनुकूलको शिक्षा दिने र शिक्षकहरु खुला प्रतिस्पर्धाबाट छान्ने हो भने पनि धेरै समस्या समाधान हुने उनको भनाइ थियो । क्याम्पसमा विद्यार्थी सङ्गठनका बीचमा मित्रवत प्रतिस्पर्धा हुनु जायज भए पनि क्याम्पस सञ्चालकले राजनीति गर्दा यस्ता संस्था धरासायी बन्दै गएकामा उनले चिन्ता व्यक्त गरे। “क्याम्पस सञ्चालकले शिक्षक छनोटदेखि सबै कुरामा राजनीतिक आँखाले हेर्न थालेपछि यस्ता संस्था धरासायी बनेर जान्छन्”, उनले भने, “स्वच्छ र दिगो शैक्षिक वातावरणका लागि शिक्षकको छनोट पनि खुला प्रतिस्पर्धाबाट हुन जरुरी छ ।”

उनले फरक प्रसङ्गमा बोल्दै आफनो कार्यकालभित्र पर्वतका सात वटै पालिकाका ६२ वटै वडासम्म पुग्ने सडकलाई पक्की गरेरै छाड्ने प्रतिबद्धता जनाएका थिए । उनले कुश्माबजारलाई ज्ञादीसँग जोड्न झाप्रेबजार र बलेवासँग जोड्न कल्लेरीमा मोटरेबल पुल बन्न लागेको जानकारी दिँदै सडकको सहज पहुँच भएपछि कुश्माबजारलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्न पनि सहयोग पुग्छ भने।

संविधानसभाका सदस्य अर्जुनप्रसाद जोशीले पनि शैक्षिक संस्था राजनीतिबाट मुक्त हुनुपर्ने कुरामा जोड दिए । “शैक्षिक संस्थामा बसेर राजनीति गर्ने र शैक्षिक संस्थालाई पूर्वाग्रह राखेर हेर्ने दुवै अतिवादी हुन्”, उनले भने, “राजनीतिभन्दा माथि राखे मात्रै शैक्षिक संस्थाको विकास र उन्नति सम्भव छ । गुप्तेश्वर क्याम्पसका संस्थापक अध्यक्षसमेत रहेका जोशीले गुप्तेश्वर क्याम्पसले दश जोड दुई कक्षा हटाएकै कारण विद्यार्थी सङ्ख्या कम हुन पुगेको बताउँदै आफूले संस्थामा राजनीति नहोस् भनेर छिट्टै पद छाडेको दाबी पनि गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *