व्यास नपाको संशोधित बजेट पारित
दमौली । तनहँुको व्यास नगरपालिकाले चालू आर्थिक वर्ष २०७६÷७७ का लागि संशोधित बजेट पारित गरेको छ । शनिबार सम्पन्न भएको ३२औँ नगरसभाबाट नगरपालिकाले चालू आर्थिक वर्षका लागि रु एक अर्ब ४४ करोड ८२ लाख ७६ हजार ७१७ को संशोधित आय अनुमान कायम गरेको हो ।
उपप्रमुख मीरा जोशीद्वारा प्रस्तुत बजेटको आन्तरिक स्रोततर्फ विभिन्न शीर्षकमा साविकको आय अनुमानमा रु एक करोड २१ लाख ९६ हजार थप गरी रु १६ करोड छ लाख ९६ हजारको संशोधन आय अनुमान कायम गरिएको छ । जुन कूल बजेटको ११.१० प्रतिशत हुन आउने नगरपालिकाले जनाएको छ ।
बाह्य र अन्य आयतर्फ विभिन्न निकायबाट प्राप्त हुने गरी रु पाँच करोड ५७ लाख ५५ हजार ७१७ थप गरी कूल बाह्य र अन्य आय रु एक अर्ब २८ करोड ७५ लाख ८० हजार ७१७ को संशोधन आय अनुमान कायम गरिएको छ । जुन कूल बजेटको ८८.९० प्रतिशत हुन आउँछ ।
व्ययतर्फ कूल चालू खर्चअन्तर्गत विभिन्न शीर्षकमा साविकको व्यय अनुमानमा रु एक करोड ८८ लाख १४ हजार थप गरी कूल चालू खर्च रु ७९ करोड ७४ लाख ९० हजार संशोधन अनुमान कायम गरिएको छ, जुन कूल बजेटको ५५।०७ प्रतिशत हुन आउँछ । पूँजीगत खर्चतर्फ विभिन्न कार्यक्रममा खर्च हुने गरी साविकको व्यय अनुमानमा रु चार करोड ९१ लाख ३७ हजार ७१७ थप गरी कूल व्यय रु ६५ करोड सात लाख ८३ हजार ७१७ को संशोधन व्यय अनुमान कायम गरिएको छ ।
नगरसभाले आर्थिक वर्ष २०७६/७७ को संशोधित आर्थिक विधेयक २०७६ छलफल गरी संशोधनसहित पारित गरेको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार वडा नं ११ को खड्ककालीमार्गका लागि सङ्घीय सरकारबाट प्राप्त रु पाँच करोड स्वीकार गरी रु पाँच करोड नगरपालिकाले थप गर्ने गरी योजना स्वीकृत गरेको छ ।
साथै गण्डकी प्रदेश सरकारमार्फत केशवटारमार्गका लागि प्राप्त रु एक करोड सशर्त बजेट अनुदान पनि नगरसभाले स्वीकृत गरेको छ । उक्त मार्गका लागि नगरपालिकाले आफ्नो सहभागिता जनाई रु एक करोड २३ लाख रकम विनियोजन गरी नियमानुसार बोलपत्र प्रक्रिया अगाडि बढाउने र थप रु एक करोडको काम केशवटारस्थित ढाक्रेश्वाराचोकबाट दमौलीतर्फ आउने काममा लगाउने निर्णय गरेको छ ।
नगरसभामा चालू आर्थिक वर्षको साउनदेखि भए गरेका कार्यलाई उल्लेख गरी विभिन्न ३१ समितिका संयोजकद्वारा प्रस्तुत प्रगति प्रतिवेदनमाथि छलफल गरेको थियो । नगरसभाले १०८ फिट मूर्ति निर्माणका लागि आगामी वर्षको बजेटबाट रु एक करोड विनियोजन गर्ने निर्णयसमेत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । साथै व्यास अवतरण भूमिको पर्यटकीय प्रवद्र्धनका लागि आगामी वर्षदेखि खुला व्यास गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको छ ।
Facebook Comment