दिल्लीमा चुनावमा केजरीवालको आँधी आउने संकेत

डिसी नेपाल
२५ माघ २०७६ २२:०९

नयाँ दिल्ली (एजेन्सी)। भारतको राजधानी रहेको प्रदेश दिल्ली विधानसभाको मतदान शनिबार सम्पन्न भएको छ। दिल्ली विधानसभाको मतदान सकिएपछि भारतका विभिन्न संस्थाले एग्जिट पोल सार्वजनिक गरेका छन्।

एग्जिट पोल आम आद्मी पार्टी (आप)को सरकार फेरि बन्ने देखाएका छन्। आप नेता तथा मुख्यमन्त्री अरविन्द केजरीवालले प्रचण्ड बहुमत ल्याउने लगभग सबै एग्जिट पोलहरुले अनुमान गरेका छन्।

सबै एग्जिट पोलहरुले प्रमुख विपक्षी दल काँग्रेस आईले एक पनि सिट जित्न नसक्ने अनुमान गर्दा केन्द्रमा सरकार बनाएको भारतीय जनता पार्टीले बढिमा २३ सिट र कम्तिमा २ सिटमा जित हात पार्ने अनुमान गरेका छन्।

यसअघि पनि आपले ७० सिट रहेको विधानसभामा ६७ सिट जितेको थियो भने भाजपाले ३ सिट जितेको थियो। पछिल्लो पाँच वर्षदेखि काँग्रेस आई भने प्रतिनिधिबिहीन छ। यो पटक पनि काँग्रेस दिल्ली विधानसभामा प्रतिनिधिबिहीन हुने अनुमान गरिएको छ।

एग्जिट पोल गराएको आजतक माई एक्सिस इण्डियाले आपले ५९ देखि ६८ सिट जित्न सक्ने अनुमान गरेको छ भने भाजपाले २ देखि ११ सिट जित्ने अनुमान गरेको छ। यो एग्जिट पोलले काँग्रेसको जित्ने सम्भावना नरहेको देखाएको छ।

यस्तै अर्को सर्वेक्षक टाइम्स नाऊले आपलाई ४७ सिट र भाजपालाई २३ सिट दिएको छ। यो सर्वेक्षकले पनि काँग्रेसलाई शून्य सिट दिएको छ।

यस्तै रिपब्लिक जनकी वातले गरेको एग्जिट पोलले आपलाई ४८ देखि ६१ सिट, भाजपालाई ९ देखि २१ र काँग्रेसलाई शून्यदेखि १ सिटसम्म दिएको छ।

अर्को सर्वेक्षक एबीपी सी भोटरले आपलाई ४९ देखि ६३, भाजपालाई ५ देखि १९ र काँग्रेसलाई शून्यदेखि ४ सिट जित्न सक्ने अनुमान गरेको छ।

चुनावमा मतदान गरिसकेपछि मतदाताहरुसँग गरिएको कुराकानीका आधारमा एग्जिट पोल तयार पारिन्छ। सामान्यतय यसले चुनावी परिणामको पूर्वानुमान गर्ने भनिए पनि भारतमा पछिल्ला चुनावहरुमा यस्ता एग्जिट पोलहरु लगभग सटिक हुने गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *