रोनाल्डोले किर्तिमानी गोल गर्दा पनि हार्‍यो युभेन्टस

डिसी नेपाल
२६ माघ २०७६ ८:२७

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले अप्रत्याशित हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले हेलास भेरोनासँग २-१ गोल अन्तरको हार बेहोरेको हो ।

भेरोनाको जितमा फाबियो बोरिनी र जियाम्पओलो पाजिनीले एक एक गोल गरेका थिए । त्यस्तै युभेन्टसका लागि भने क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए ।

पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा तिनै गोल दोस्रो हाफमा भएका थिए । खेलको ६५औ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसले शुरुवाती अग्रता लिएको भएपनि भेरोनाले खेलको ७६औ मिनेट र ८६औ मिनेटमा गोल गर्दै खेल जितेको थियो ।

यस खेलमा गोल गरे सँगै क्रिस्टियानो रोनाल्डोले नयाँ किर्तिमान बनाएका छन् । रोनाल्डो सिरी ए को इतिहासमा लगातार १० खेलमा गोल गर्ने युभेन्टसको पहिलो खेलाडी बनेका छन् । यस अघि सन् २००५ मा डेभिड ट्रेजेगुएटले लगातार ९ खेलमा गोल गरेर यस्तो किर्तिमान आफ्नो नाममा बनाएका थिए ।

यो हारपछि पनि युभेन्टस सिरी ए को शिर्ष स्थानमा कायमै रहेको छ । युभेन्टसको २३ खेलमा ५४ अंक छ भने दोस्रो स्थानमा रहेको इन्टर मिलानको २२ खेलमा ५१ अंक रहेको छ ।

त्यस्तै युभेन्टसलाई पराजित गरेर तीन महत्वपूर्ण अंक बटुलेको भेरोनाको भने २३ खेलमा ३४ अंक रहेको छ भने लिगको छैठौ स्थानमा उक्लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *