गिट्टी कुटेर पढाइ खर्च धान्न विवश छन् बालबालिका

डिसी नेपाल
२६ माघ २०७६ ९:०२

जाजरकोट । भेरी नगरपालिका–२ बाहुनथानाकी २१ वर्षीया लक्ष्मी खड्का एक महिनाको दुधे बच्चा च्यापेर गिट्टी कुटिरहेकी छिन् ।

उनस् सुत्केरी भएको दुई हप्ताभित्रै गिट्टी कुट्ने काममा लागिरहेकी छिन् । तीन छोरा, छोरीकी आमा भइसकेकी उहाँ गिट्टी कुट्ने ठाउँका कहिले शिशुलाई च्यापेर, त कहिले चिसो भुइँमा राखेर काम गरिरहेकी छिन् । उनका श्रीमान् प्रेम खड्का पनि सडकका पर्खाल लगाउने काम गर्छन् ।

जाजरकोट–जुम्ला सडकखण्डअन्तर्गत खलङ्गा पाँचकाटिया सडकको ग्राभेलको काम अहिले जारी छ। “पढ्दापढ्दै छाडियो, अहिले गिट्टी कुटेर छोराछोरीसहित घरपरिवार चलाउनुपर्छ के गर्नु” लक्ष्मीले भनिन् ।

उनीजस्तै अर्की ४० वर्षीया भीमकुमारी खड्का चार छोराछोरीको पढाइका लागि गिट्टी कुटिरहेकी छिन् ।

“कुनै राजगारी छैन, यही गिट्टी कुटेर सबै परिवार पाल्नुपर्छ”, उनले भनिन्, “छोरीहरु स्थानीय विद्यालयमा कक्षा ५ र ६ मा पढ्छन्, पढाइ खर्चका लागि भए पनि गिट्टीको सहारा लिएको छु, यसमै काम गने ठेकेदारले समयमा पैसा दिँदैनन्।”

सोही सडक खण्डमा शङ्कर भवन मावि बाहुनथानामा कक्षा २ मा अध्ययनत् चन्द्रा घर्तीले बिहान–बेलुका गिट्टी कुटेर पढाइ खर्च जुटाउँदै आएकी छिन् । बिहान ७ बजे सडकछेउमा हथौडा र ढुङ्गाको भारी खातमा हाजिर हुने उनी साढे ९ बजे विद्यालय पुग्छिन् । उनी अपराह्न ३ बजेपछि पुनः गिट्टी कुट्न आउने गर्दछिन् । उनीसँगै कक्षा १ मा पढ्ने रुपेश पुन र कक्षा २ मा पढ्ने अस्मित पुन खर्चकै लागि गिट्टी कुट्दै आएका छन्।

उनीहरुले दैनिक गिट्टी कुटेर बिक्री गरी पढाई खर्च जुटाउँदै आएका छन्

घरमा आमा बाबाले कपडा सिलाउनुहुन्छ, हामी गिट्टी कुट्छौँ उनीहरुले भने । कक्षा ६ मा पढ्ने सिर्जना परियार र उनकी बहिनी कक्षा २ मा पढ्ने रोशनी परियारसँगै गिट्टी कुट्दैछन्।

उनीहरु पनि दैनिक बिहान र बेलुका गिट्टी कुट्छन्, दिउँसो विद्यालय पढ्छन् । यसरी यहाँका अधिकांश जनजाति र दलित समुदायको जीवनयापन चलिरहेको छ।

अर्थाभावका कारण यहाँका अधिकांश बालबालिका मात्र होइन, ज्येष्ठ नागरिकसमेत अर्थोपार्जनका लागि गिट्टीकै सहारा लिइरहेका छन् ।

छोरा, बुहारीले राम्रो गरेनन्, पेट पाल्नै प¥यो, मर्न सकिँदैन भन्दै गहँभरि आँसु झार्दै भेरी नपा–२ की ६२ वर्षीया छिता परियारले भनिन्, “छोरीको बच्चा बोकेर गिट्टी कुट्न आएकी छु, घरमा छोरा र बुहारीले हेला गर्छन्, एक्लै बस्छु बाँच्नका लागि गिट्टी कुट्दैछु।”

उनीहरुजस्तै अहिले जाजरकोट–खलङ्गादेखि पाँचकाटियासम्मको सडक निर्माण हुँदै गर्दा दर्जनौँ स्थानीयवासी गिट्टी कुटेर जीवन निर्वाह गरिरहेका छन्।

अधिकांश ज्येष्ठ नागरिक र बालबालिका गिट्टी कुटिरहेका छन् । गिट्टी ठेकेदारले लिए पनि समयमा पैसा नदिएका कारण समस्यमा पर्दै आएको उनीहरुको गुनासो छ।

गिट्टी कुटेर समयमै पैसा पाएको भए घरमा नुनतेल र खाद्यान्न खरीद गरेर दैनिक घर खर्च टार्न सजिलो हुने उनीहरुको भनाइ छ।

सो सडकखण्डमा मात्र होइन, जाजरकोट–डोल्पा सडकखण्डको विभिन्न भागमा समेत गिट्टी कुटेर दैनिक गुजारा चलाउनको सङ्ख्या ठूलो छ।

वैकल्पिक पेशा नभएका स्थानीयवासी तथा भारतसँगै अन्य मुलुक रोजगारीका लागि नगएकाहरु गिट्टी कुट्ने काममा व्यस्त भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *