पाकिस्तानी ब्याट्सम्यान नासिर जमशेदलाई १७ महिनाको जेल सजाय

डिसी नेपाल
२६ माघ २०७६ १०:१८

एजेन्सी। खेलमा मिलेमतो गरेको आरोप प्रमाणित भएपछि पाकिस्तानी ब्याट्सम्यान नासिर जमशेदलाई १७ महिनाको जेल सजाय सुनाइएको छ । गत फेब्रुअरीमा उनलाई ब्रिटिस नागरिकहरु युसुफ अनवर र मोहम्मद इजाजसँगै राष्ट्रिय अपराध विभागले पक्राउ गरेको थियो ।

जमशेदलाई गत सिजनको पाकिस्तान सुपर लिग(पिएसएल)मा अन्य खेलाडीलाई निश्चित बलहरुमा रन नलिन उत्प्रेरित गरेको आरोप लागेको थियो । त्यसबापत आउने ३० हजार अमेरिकी डलरबाट भाग अनुसारको पैसा दिने प्रलोभन उनले ती खेलाडीहरुलाई दिएका थिए । पक्राउ परेका उनीहरु तीनै जनाले आफ्नो अपराध कबुलेपछि उनीहरुलाई जेल हालिएको हो।

जमशेदमाथि त्यसअघि बङ्लादेश प्रिमियर लिगमा पनि मिलेमतोको प्रयास गरेको आरोप छ । पिएसएलमा भने एक प्रहरी अधिकारीले आफूलाई छद्मभेषमा सट्टेबाजहरूको समूहको सदस्यका रुपमा प्रस्तुत गर्दै उनीहरूको अपराधलाई समातेका थिए । अनुसन्धानमा जमशेदले बंगलादेशमा नै मिलेमतोको प्रयास गरेको भएपनि अन्तिम समयमा सो योजनाबाट पछि हटेको देखाएको छ । त्यसपछि उनले पिएसएलमा इस्लामाबाद युनाइटेड र पेशावर जाल्मीबीच दुबईमा भएको खेलमा आफ्नो योजना साकार पारेका थिए ।

उनले खेलाडीलाई हौसला दिएको नाटक गर्दै मिलेमतोको आफ्नो अभियानमा मिसाएका थिए । घटना सार्वजनिक भएपछि उनले सुरुमा त्यसलाई अस्वीकार गरेका थिए तर पछि डिसेम्बरमा भएको सुनुवाइमा आफ्नो अपराध कबुलेका थिए । यो प्रकरणमा अनवरलाई ४० महिना जेल भएको थियो भने इजाजलाई ३० महिनाको जेल सजाय भएको छ । जमशेदले पाकिस्तानका लागि ६० खेल खेलेका छन् ।

मिलेमतोमा संलग्न भएको सार्वजनिक भएपछि पाकिस्तान क्रिकेट बोर्डले जमशेदलाई १० वर्षको प्रतिबन्ध लगाइसकेको छ । त्यसैगरी पिएसलमा फिक्सिङ गरेकोमा सार्जिल खान र खालिद लतिफलाई पाँच वर्षको प्रतिन्ध सुनाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *