लगातार संसद अवरोध भएपछि नेताहरुले के भने?

डिसी नेपाल
२६ माघ २०७६ १६:११

काठमाडौं। ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा दायर गरेको मुद्दामा प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आइतबार तेस्रो दिन पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ।

लगातार संसद अवरोध गरेको विषयमा प्रतिक्रिया दिँदै नेताहरुले पक्ष र विपक्षमा आ आफ्ना धारणा व्यक्त गरेका छन्।

आइतबार संसदभवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै काँग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले किन छानबिन गरियो भनेर नभई छानबिनको प्रक्रिया गलत भएको भनेर विरोध गरिएको प्रष्टीकरण दिए। यो विषय संसदमा छलफल गरेर टुंगिने नभएको आफूहरुलाई थाहा भए पनि अदालतमा मुद्दा पुर्याउने प्रक्रिया निष्पक्ष र कानूनसम्मत नभएको उनले बताए।

कानून सबैलाई समान हुनेभए पनि एउटै कानूनलाई फरक फरक ढंगले ब्याख्या गरेर मुद्दा अगाडि बढाउने विषय आपत्तिजनक भएको उनले बताए।

सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले लगातार तीन पटक काँग्रेसले संसद अवरुद्ध गरे पनि अरुबेला जस्तो सरकारसँग कुनै माग नै नराखेको बताए।

संवैधानिक अंगले दायर गरेको मुद्दामा सत्तापक्ष कहिँ पनि नजोडिएको बताउँदे नेम्वाङले भने, ‘कहाँ सहयोग गर्नुपर्यो हामीलेभनिरहेका छौँ। तर त्यो कुरा आएको छैन। अख्तियारले एकतर्फी मुद्दा दायर गरेको देखिँदैन। संवैधानिक अंगले चलाएको मुद्दामा सत्तापक्ष वा अर्को पक्ष भन्ने हुँदैन। अदालतमा प्रवेश गरेको मुद्दामा संसदमा प्रश्न समेत गर्न पाईंदैन।’

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सांसद लक्ष्मणलाल कर्णले अख्तियारले भेदभावपूर्ण रुपमा निर्णय गरेको भन्दै लगातार संसद बैठक अवरुद्ध हुनु राम्रो नभएको भन्दै यो विषयलाई गम्भिरतापूर्वक छलफल गरेर टुंगो लगाउनुपर्ने बताए।

आइतबारका लागि बोलाइएको संसद बैठक कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो। ललिता निवास प्रकरणमा अख्तियार दुरुपोग अनुसन्धान आयोगले भेदभावपूर्ण तरिकाले मुद्दा दायर गरेको भन्दै लगातार तेस्रो पटक संसद अवरुद्ध गरेको हो। आइतबार सभामुखले कांग्रेस सांसदलाई बोल्ने समय दिएनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *