बुशफायर च्यारिटी क्रिकेटमा पोन्टिङको टिम एक रनले विजयी

एजेन्सी । अस्ट्रेलिया फैलिएको विनाशकारी डढेलाका क्षतिबाट असर पुगेकाहरुलाई सहयोग गर्न भएको च्यारिटी खेलमा रिकी पोन्टिङको टिम विजयी भएको छ।
बुशफायर क्रिकेट बास नाम दिईएको उक्त खेलमा रिकी पोन्टिङ–११ ले एडम गिलक्रिस्ट–११ लाई १ रनले पराजित गरेको हो।
सचिन तेन्दुलकर प्रशिक्षक रहेको पोन्टिङ–११ ले प्रस्तुत गरेको १ सय ५ रनको लक्ष्य पछ्याएको जवाफी ब्याटिङ गरेको गिलक्रिस्ट–११ ले निर्धारित १० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर १ सय ३ रनमा सिमित भएपछी रिकी पोन्टिङको टिम विजयी हुन सफल भयो ।
गिलक्रिस्ट–११ का लागि शेन वाटसनले सर्वाधिक ३० रन जोडे । रिटायर्ट हट भएका उनले ९ बलमा २ चौका र ३ छ्क्का प्रहार गरे। यस्तै एन्ड्र्यू साइमंड्सले पनि २९ रन बनाए भने कप्तान एडम गिलक्रिस्टले १७ रन , युवराज सिंह २ रन , एलिस विलानीले ६ रन र निक रिभोल्टले ९ रन बनाएका थिए । बलिङतर्फ पोन्टिङ–११ का ब्रेट लीले २ तथा ल्यूक होजले १ विकेट लिएका थिए ।
त्यसअघि मेलबर्नमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोन्टिङ–११ ले निर्धारित १० ओभर पुरै खेल्दै ५ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो ।
पोन्टिङ–११ का लागि ब्रायन लाराले सर्वाधिक धेरै बनाए । रिटायर्ट हर्ट भएका उनले ११ बलमा ३ चौका र २ छ्क्कासहित ३० रन बनाए । यस्तै कप्तान रिकी पोन्टिङले पनि २६ तथा म्याथ्यू हेडेनले १६ रन बनाएका थिए ।
बलिङतर्फ गिलक्रिस्टका युवराज सिंह र कोर्टनी वाल्शले समान १–१ विकेट लिएका थिए । यस च्यारिटीबाट उठेको रकम अष्ट्रेलियन रेड क्रसलाई प्रदान गरिने बताईएको छ ।
Facebook Comment