ओखल्ढुङ्गामा ‘खिजीदेम्बा अल्ट्रा म्याराथन’

डिसी नेपाल
२६ माघ २०७६ २१:२१

काठमाडौँ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अर्को महिना ओखलढुङ्गामा ‘खिजीदेम्बा अल्ट्रा म्याराथन’ दौड आयोजना गरिने भएको छ । ओखलढुङ्गा पर्यटन विकास समितिको आयोजनामा आगामी फागुन १९ गते दोस्रो संस्करणको अल्ट्रा म्याराथन आयोजना गर्न लागिएको आईतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

गतवर्ष हाफ अल्ट्रा म्याराथन भएकोमा यसपटक भने अन्तर्राष्ट्रिय खेलाडीको सहभागितामा ४२ किलोमिटरको म्याराथन दौड आयोजना गर्न लागिएको आयोजक ओखलढुङ्गा पर्यटन विकास समितिका अध्यक्ष ङावा ङिमा शेर्पाले जानकारी दिए ।

खिजीदेम्बा गाउँपालिका, नेपाल पर्यटन बोर्ड र नेपाल माउन्टेनरिङ एशोसिएशनसँगको समन्वयमा हुन लागेको म्याराथनको तयारी थालिएको उनले बताए । म्याराथन दौडले नेपाल भ्रमण वर्षलाईसमेत सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

उक्त गाउँपालिकाको खिजी फलाँटेबाट शुरु हुने म्याराथन दौड चुप्लुभञ्याङ, थोलेदेम्बा, ताक्लुङ, ल्ह्मुचे, बुलबुले, दोराखर्क, ताउर हुँदै पुनःखिजी फलाटेमा आएर समापन हुने जनाइएको छ । महिला पुरुषबीच प्रतियोगितात्मक रुपमा हुने म्याराथनको विजेताले नगद रु ७० हजार, उपविजेताले रु ५५ हजार र तेस्रोे हुनेले रु ४० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि फागुन आठ गतेसम्म नाम दर्ता गर्न आयोजकले सूचना जारी गरेको छ ।

पत्रकार सम्मेलनमा सांसद यज्ञराज सुनुवारले म्याराथन दौडले त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने बताए । सो क्रममा ओखलढुङ्गा कला साहित्य समाजका अध्यक्ष गम्बु शेर्पा, सगरमाथा आरोही पेम्बा शेर्पा, शेर्पा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष आङ् पेम्बा शेर्पा, पूर्व सांसद रामहरि खतिवडा लगायतले म्याराथन दौडलाई नियमित गर्नका लागि राज्यबाटै आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *