ला लिगामा रियलको जित, बार्सिलोनासँग ६ अंकको अग्रता

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले ओसासुनालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
ओसासुनाको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर रियलले जित निकालेको हो । रियलको जितमा इस्को, सर्जियो रामोस, लुकास भास्केज र लुका जोभिकले एक एक गोल गरे । ओसासुनाका उनाइ ग्रासियाले एक गोल गरे ।
खेलको १४ औं मिनेटमा ग्रासियाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ३३ औं मिनेटमा इस्कोले गोल गर्दै रियललाई १–१ को बराबरीमा फर्काए ।
खेलको ३८ औं मिनेटमा रामोसले गोल गर्दा रियल २–१ ले अघि रह्यो । ८४ औं मिनेटमा लुकासले गोल गर्दा रियलले ३-१ को अग्रता बनायो । त्यसपछि खेलको इन्जुरी समयमा लुकाले गोल गर्दै रियललाई ४–१ को जित दिलाए ।
जितसँगै रियलले लिगको शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ । रियलले २३ खेलमा ५२ अंक जोडेको छ । दोस्रो स्थानको बार्सिलोनाको २२ खेलमा ४६ अंक रहेको छ । ओसासुना २३ खेलमा २८ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ ।
Facebook Comment