बेलायती माथिल्लो सदनका सभामुखद्वारा राष्ट्रियसभाको अवलोकन
काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निमन्त्रणामा नेपाल भ्रमणमा रहेको क्यानडाको उपल्लो सदन(सिनेट)का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डले सोमबार राष्ट्रिसभाको अवलोकन गरेको छ।
राष्ट्रियसभाको बैठकको सुरुमै अध्यक्ष गणेश तिमिल्सिनाले नेपाल भ्रमणमा रहेको क्यानडाको उपल्लो सदन(सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डललाई बैठकमा स्वागत गरेका थिए। जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले विशिष्ट दीर्घामा बसेर राष्ट्रियसभा संञ्चालनको अवलोकन गरेको थियो।
सोमबारको बैठकमा दलीय आधारमा बोल्दै राष्ट्रियसभाका सदस्यले फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलको स्वागतार्थ मन्तव्य दिएका थिए। नेकपाका राष्ट्रियसभाका प्रमुख सचेत दिनानाथ शर्माले क्यानडाको संसदीय प्रतिनिधिमण्डलाई स्वागत गर्दै नेपाल बसाई सुखमय बितोस् भन्ने कामना गरे।
उनले क्यानडाको राजनीतिक र संसदीय प्रणालीको चर्चा गर्दै नेपालको संसदीय र राजनीतिक प्रणालीका धेरै विशेषता र मौलिकता क्यानडासंग मिल्दो रहेको बताए। राष्ट्रियसभाले सबै जातजाति र समुदायको प्रतिनिधित्व गरेकाले राष्ट्रियसभा सप्तरंगी इन्द्रेणीको रुपमा अवस्थित रहेको बताए।
‘यो हाम्रो राष्ट्रियसभा समावेशी समानुपातिक सिद्धान्तको सप्तरंगी इन्द्रेणीको रुपमा अभिव्यक्त हुन्छ,’ उनले भने। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभाका प्रमुख सचेतक सुरेन्द्रराज पाण्डेले क्यानडेली संसदको प्रतिनिधि मण्डलको स्वागत गर्र्दै भ्रमणले नेपाल र क्यानडाबीच सम्बन्ध थप दौत्य हुने विश्वास व्यक्त गरे।
नेपाल र क्यानडाको राजनीतिक प्रणालीमा धेरै समानता रहेको चर्चा गर्दै उनले संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानको विशेषताको व्याख्या पनि गरे। कयौं अधिकारलाई संविधानले प्रत्याभूति गरेको भएपनि पछिल्लो समय संविधानले प्राप्त गरेको उपलब्धिलाई सरकारले कानुन निर्माण गरेर नियन्त्रण गर्ने प्रयत्न पनि भएको गुनासो गरे।
सूचना प्रविधि विधेयक, राष्ट्रिय सुरक्षा परिषद् मानवअधिकार आयो तथा नेपाल विशेष सेवा गठन र सञ्चालन सम्बन्धी विधेयकहरुले जनताको गोपनियताको हनन गर्ने हुन् कि भन्ने आशंका उब्जाएको उल्लेख गर्दै त्यस्ता विधेयकहरुलाई सच्याउन सरकारलाई सचेत गराए।
‘कयौं विधेयकहरु छन् जसलाई हामीले सच्याउनुपर्ने छ। संविधानको भावना र मर्म विपरित देखिएका विधेयकहरु सच्याउनका लागि म आग्रह गर्न चाहन्छु । सरकारलाई सचेत पनि गराउन चाहन्छु,’ उनले भने।
उनले चीनमा रहेका नेपाली विद्यार्थीलाई नेपाल फर्काउन पनि सरकारको ध्यानाकर्षण गराए। राष्ट्रिय जनता पार्टी नेपालका राष्ट्रियसभा सदस्य रमेशप्रसाद यादवले नेपाल भ्रमणमा रहेको क्यानडाको उपल्लो सदन(सिनेट) का सभामुख जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डललाई स्वागत गर्दै सुखद नेपाल बसाईको कामना गरे।
उनले भ्रमणले क्यानडा र नेपालको सम्बन्ध अझै प्रगाढ बनोस् भन्ने कामना गरे। उनले संविधान संसोधन गरेर सबैको अधिकार सुनिश्चित गर्दै सर्वस्वीकार्य बनाएर अघि बढ्न आग्रह गरे। उनले उखु किसानको समस्या सम्बोधन, चुरे संरक्षण, पानीको स्रोत तथा सिंचाईको स्रोत संरक्षण लगायत विषयमा पनि सरकारको ध्यानाकर्षण गराए।
राष्ट्रियसभाको सोमबारको बैठकका अन्य कारवाहीहरु कार्यसूचीबाट हटाइएको थियो। राष्ट्रियसभाको अर्को बैठक फागुन ५ गते सोमबार अपरान्ह १ बजेका लागि बोलाइएको छ।
Facebook Comment