युरोपमा शक्तिशाली आँधी, जनजीवन प्रभावित

डिसी नेपाल
२७ माघ २०७६ १६:४०

जर्मनी । युरोपभर आएको शक्तिशाली आँधीले जनजीवन प्रभावित भएको छ । १ सय ५० किलोमिटर प्रति घण्टाको बेगमा रहेको सियारानामक आँधीका कारण युरोप आँधीको चपेटामा परेको हो । यातायात सेवा प्रभावित भएका छन् भने विद्यालय बन्द गरिएका छन् ।

बेलायत र जर्मनीमा गरी ३ जना गम्भीर घाइते भएका छन् । उत्तरी युरोपबाट दक्षिण तर्फ लागेको सविन नामक आँधी झन बेगले अघि बढिरहेको छ ।

बेलायत हुँदै युरोप प्रवेश गरेको आँधीका कारण हजारौं घरहरुमा विद्युत सेवा अवरुद्ध भएको छ भने सयौं हवाई उडान समेत रद्द गरिएको छ । जर्मनीमा सविन नाम दिइएको यो आँधी आइतबार मध्यान्हबाट सुरु भएको हो ।

सोमबार आँधीको गति १ सय ८० किलोमिटर प्रति घण्टा पुग्ने जर्मन मौसम विभागले जनाएको छ । सोमबार विहान सारब्रुकेन सहरमा रुख ढलेर २ जना गम्भीर घाइते भएका छन् । आइतबार मात्रै डुसेल्डोर्फ विमानस्थलबाट १ सय ११ र फ्रांकफोर्टबाट १ सय ८० हवाइ उडान रद्द गरिएको थियो भने अवतरण हुनुपर्ने जहाजहरुलाई अन्यत्रै डाइभर्ट गरिएको थियो ।

सोमबार पनि १५ प्रतिशत उडान रद्द गरिएको लुफ्थान्जाले जनाएको छ । जर्मन रेल सेवा डइचे बाहनले पनि अधिंकाश क्षेत्रमा रेल सेवा बन्द गरेको जनाएको छ । आइतबार १८ सय रेल सेवा कटौती गरिएको थियो भने सोमबार हजार भन्दा बढी कटौति भइसकेको डइचे बाहनले जनाएको छ । तीब्र गतिको आँधी आएपछि स्विजरल्याण्ड, जर्मनी, डेनमार्क बेल्जियम, नेदरल्याण्ड्स लगायत मुलुकमा उच्च सतर्कता अपनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *