चीनमा स्वास्थ्य सङ्कटका माझ राष्ट्रपति सीले गरे अस्पतालको भ्रमण
बीबीसी । अन्तर्राष्ट्रिय चिकित्सकहरूको विज्ञ टोली कोरोनाभाइरसको प्रकोपबारे अध्ययन गर्न चीन आइपुगेको छ। विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले सही प्रश्नको जवाफ खोज्नका लागि चिनियाँ विज्ञहरूलाई उक्त टोलीले सघाउने बताए।
उनले थप विज्ञहरू जति सक्दो चाँडो आइपुग्ने पनि आशा व्यक्त गरे। तर उक्त सङ्गठनका प्रमुखले चीनमा नपुगेका मानिसहरूमा पनि उक्त भाइरस सरेको विषयमा चिन्ता व्यक्त गरे।
साना सङ्ख्यामा देखिएका सङ्क्रमणका यी घटनाले पनि ठूलो रूप लिनसक्ने भन्दै साझा समस्यासँग जुध्नका लागि एक हुनुपर्ने बताए।
अस्पतालको भ्रमण
यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोनाभाइरसबाट सङ्क्रमित बिरामीहरूको बेइजिङमा उपचार गरिरहेका कर्मचारीलाई भेटेका छन्।प्रकोपका माझ उनले दुर्लभ खालको सार्वजनिक उपस्थिति जनाएका हुन्। राष्ट्रपति सीले मुखमा मास्क लगाएर सामुदायिक स्वास्थ्य केन्द्रको पनि भ्रमण गरे।
कोरोनाभाइरसका कारण अहिलेसम्म एक हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ जुन यसघि सन् २००२-३ मा भएको सार्सको महामारीका कारण देखापरेको स्वास्थ्य सङ्कटको बेलामा भन्दा बढी हो। आफ्नो भ्रमणका क्रममा सीले भाइरससँग जुध्नका लागि “थप निर्णायक उपायहरू” चाल्न अपिल गरे।
आलोचना
कोरोनाभाइरसको प्रकोप खराब हुँदै गएका बेला विगतका साताहरूमा राष्ट्रपति सीले यस्ता भ्रमणहरू गरेका थिएनन्। पहिलोपटक भाइरस देखापरेको वुहानमा भने उनले भ्रमण गर्न बाँकी नै छ।
कोरोनाभाइरस कसरी सर्छ र यसबाट कसरी जोगिने ?
भाइरसबारे आफ्ना सहकर्मीलाई सचेत गराउने कोसिस गरेका तर पछि चुप लगाइएका डाक्टरको गत साता मृत्यु भएपछि त्यसले सामाजिक सञ्जालमा सरकारी निकायहरूप्रति थामिनसक्नु आक्रोश र शोक व्यक्त भएका थिए। त्यस्ता आक्रोशहरू धेरैजसो सीको सरकारविरुद्ध नै पोखिएको थियो।
चिनियाँ नेतृत्वले यसअघि भाइरसको जोखिमलाई कम आँकेको र सुरुमा त्यसलाई गोप्य राख्न खोजेको भनेर आलोचना खेपिसकेको छ। सरकारले “कमीकमजोरी” स्वीकारिसकेको छ तर विश्वस्वास्थ्य सङ्गठनले भने भाइरस नियन्त्रणका लागि गरिएका प्रयासहरूको प्रशंसा गरेको छ।
Facebook Comment