इराकको कुर्दिस्तानमा धुमधामपूर्वक मनाइयो सोनाम ल्होछार

कुर्दिस्तान । इराकको कुर्दिस्तानमा सोनाम ल्होछार धुमधामपूर्वक मनाइएको छ । नेपाल तामाङ घेदुङ कुर्दिस्तानको आयोजनामा गत शुक्रबार इरबिल शहरको नवरोज हलमा मञ्जुश्री सम्वत् २८५६ मुसा वर्ग राष्ट्रिय सोनाम ल्होछार विशेष कार्यक्रम गरेर मनाइएको हो ।
कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरु मङ्गोलियन हर्ट ब्याण्डका गायक राजु लामा र संगीतकार एवम् गायक विश्व दोङ्गको विशेष प्रस्तुती दिएका थिए ।
कार्यक्रम नेपाल तामाङ घेदुङ कुर्दिस्तान , इराकका अध्यक्ष च्याङ्वा लामाको सभापतित्व तथा प्रमुख सेनानी नेपाल सेना एवम् संयुक्त राष्ट्र संघ शान्ति मिसन युनिट किर्कुक इराक दुर्गा बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
त्यस्तै कार्यक्रममा एनआरएनए , कुर्दिस्तान प्रवासी नेपाली समाज , प्रवासी नेपाली एकता समाज , नेपाली महिला समाज कुर्दिस्तानलगायत कुर्दिस्तानमा भएका अन्य संघसंस्थाका पदाधिकारी विशेष अतिथिका रुपमा थिए।
कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि थापाले कार्यक्रम आयोजना गरेकोमा नेपाल तामाङ घेदुङ्ग कुर्दिस्तानलाई धन्यवाद दिँदै ल्होसारको शुभकामना दिए । नेपाल तामाङ घेदुङ कुर्दिस्तानको तर्फबाट उपाध्यक्ष श्याम मम्बाले मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्थानीय कलाकार शाजन शेर्पा, देकि शेर्पा ,कान्छा लामालगायतका कलाकारहरूले आफ्नो गायन प्रस्तुत गरेर कार्यक्रमको मावल तताएका थिए । त्यस्तै नानु तामाङले नृत्य प्रस्तुत गरेकी थिइन।
आमन्त्रित अतिथि कलाकारद्वय राजु लामा र विश्व दोङ्गले आफ्नो प्रस्तुति दिदैँ उपस्थित भिडलाई भरपुर मनोरञ्जन गराएका थिए । कार्यक्रममा राजु लामाको प्रस्तुतिको समय भिड लाई व्यवस्थापन गर्न निकै हम्मे हम्मे परेको थियो।
कार्यक्रमका विशेष आकर्षक गायक राजु लामाले इराकमा रहेर शान्ति स्थापनामा सहयोग पुरयाउन आएका नेपाली सेनालाई धन्यवाद दिदै ‘मेरो देश मेरो नेपाल मलाई लाग्छ प्यारो’ भन्ने गीत गाउँदै आफ्नो प्रस्तुती सुरु गरे । उनले इराकमा धेरै नेपाली खुशी साथ कर्म गरिरहेको देख्दा अचम्म मान्दै ‘हामी जहाँ भए पनि नेपाली’ भन्दै कार्यक्रमबाट बिदा मागेका दिए।
कार्यक्रम संयोजक दिलकुमार लामाले आफ्नो जातिको धर्म संस्कृतिलाई प्रवासमा मनाउन सफल हुँदा खुशी भएको र नेपाल सरकारबाट प्रतिबन्धित देश इराकमा नेपालकै ख्याती प्राप्त गायकहरुलाई निमन्त्रणा गरेर कार्यक्रम गर्दा नया आयाम थपिएको बताए।
Facebook Comment