सीमामा भैंसी समातेर प्रहरीले दुःख दियो : कर्ण
काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद लक्ष्मणलाल कर्णले सीमा क्षेत्रका व्यपारीहरुलाई प्रहरीले दुःख दिने गरेको बताएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कर्णले कर तिरेर सदरमुकामबाट सामान लिएर जाने गरेको भए पनि प्रहरीले २५ किलोमिटर भित्रबाटै समातेर सीमाबाट बरामद गरेको भन्दै मुचुल्का बनाउने गरेको बताए।
उनले भने, ‘अहिले बोर्डरका पसलहरु बन्द भएका छन्। भ्याट तिरेर सदरमुकामबाट यी सामानहरु लिएर बोर्डरको पसलमा जान्छन्। २५ किलोमिर भित्रै प्रहरीले समात्छ र मुचुल्का सीमामा समाते भनेर बनाउँछ। व्यक्तिले झुट बोल्ला, ठगी गर्ला, डाँका गर्ला तर राज्यले २५ किलोमिटर भित्र समातेर भन्छ बोर्डरबाट समाते। किन भने कमिसन पाउँछ। कमिसन कहाँसम्म पाउँछ मलाई थाहा छैन। कसले लिन्छ थाहा छैन्।’
कानूनी शासनको कुराहरु जति गरे पनि देशमा त्यो भेटाउन निकै गाह्रो भएको उनको भनाई छ। बाराको जीतपुरमा बोर्डरबाट भैंसी आउने गरको भए पनि त्यहाँ क्वारेन्टाइन नहुँदा स्थानीय पशु चिकित्सालयले लेखेको भरमा देशभरी भैसी जानेको गरेको उनले बताए।
उनले जीतपुर हुँदै वीरजञ्ज पुगेपछि भैसी समातेर प्रहरीले भन्सारमा पठाउने गरेको आरोप समेत गलाए। भारतबाट ल्याएको भन्दै जीतपुरबाट आएका भैसी भन्सारमा लगेर प्रहरीले दुःख दिने गरेको उनले बताए।
‘भैंसीको नागरिकता भए देखाउँथे होला भारतीय होइन नेपाली हो भनेर। यो भारतीय भैसी लिएर आयो भनेर भन्छ तर प्रमाण के त? भारतीय भैसी लिएर आयो भने बोर्डरमा समात्नु। भित्र आइसकेपछि यो भारतीय भैंसी भनेर भन्सारमा बुझाउने?’, उनले भने, ‘आज कम्युनिष्टको सरकार छ जसलाई गरिबको सरकार भन्छ। सानो व्यापारीलाई मार्ने काम नहोस्। यसले सरकारको बदनामी हुन्छ। करोडौँ सामान ल्याउनेले छुट पाउने तर २, ४ लाखको व्यापार गर्नेलाई यस किसिमबाट परिसान गरेर सबै सिध्याउने हो भने त जनता ज्यादै त्रसित छन्। अर्थमन्त्री र गृहमन्त्रीलाई यो विषयमा संसदमा आएर जवाफ दिन आग्रह गर्दछु।’
Facebook Comment