मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय फरक हुनुपर्ने सांसदको माग

डिसी नेपाल
२९ माघ २०७६ १६:५०

काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाका लागि विकास गरिएको सोच अनुसारको विधेयक आउन नसकेको सांसदहरुले बताएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बुधबारको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि भएको सैद्धान्तिक छलफलका क्रममा संसदहरुले विश्वविद्यालयको सोच र विधेयकमा फरक परेको बताएका हुन् ।

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले विज्ञान तथा प्रविधि सम्बन्धी विश्वविद्यालयमा सबै विषयको अध्ययन हुन सक्ने भएपनि विधेयक अनुसार अहिले रहेका विश्वविद्यालय र यो विश्वविद्यालयमा कुनै फरक नभएको बताए । उनले फरक सोच अनुसार स्थापना गर्न लागिएको विश्वविद्यालयको विशेष केही हुनुपर्नेमा विधेयकमा त्यस्तो केही नभएको बताएका हुन् ।

सांसद मानबहादुर विश्वकर्माले विज्ञान र प्रविधि विश्वविद्यालय भित्र मानविकी तथा समाजशास्त्र, व्यवस्थापन, कानून र न्याय पढाई हुने व्यवस्था गरिएको भन्दै त्यसलाई हटाउनुपर्ने बताए । उनले अहिलेको समय स्पेसेलाइजेसनको समय भएकाले विज्ञान र प्रविधिको विषयमा मात्र केन्द्रीत भएर विधेयक ल्याउनुपर्ने बताए ।

सांसद खगराज अधिकारीले फेरीपनि मानविकी, कानून, व्यवस्थापन लगायतका विषय हुने तर कृषि तथा प्रविधिको कुरा नआउने देखिएको भन्दै विधेयकमाथी गहन छलफल गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले नेपाल भित्र उत्पादन हुने वस्तुहरुको पेटेन्ट राइट अन्य देशले लिइसकेको उल्लेख गर्दै विश्व विद्यालयलाई स्थानीय उत्पादनसँग जोडेर जानुपर्ने बताए ।

सांसद विद्या भट्टराईले अहिलेपनि नेपालमा प्रकृतिक विज्ञानलाई मात्र विज्ञान बुझ्ने सामाजिक र सांस्कृतिक विज्ञानलाई विज्ञान नमान्ने प्रवृति रहेको भन्दै विज्ञानभित्र सबै विषयको अध्ययन हुनुपर्ने बताइन् । उनले नेपाली समाजलाई समृद्ध बनाउने हो भने विश्वविद्यालयलाई विकल्पको रुपमा ल्याउनुपर्ने भन्दा पनि प्रतिस्प्रधि बनाउनुपर्नेमा जोड दिइन् । उनले विश्वविद्यालयलाई वस्तुको पेटेन्ट राइटको विकास गर्ने गरी मात्र नभएर नेपालको संस्कृति र परम्पराका विषयमा पनि अध्ययन अनुसन्धान गरी पेटेन्ट राइट सुरक्षित गर्नेगरी विकास गर्नुपर्ने बताइन्।

सांसद उमाकान्त चौधरीले विज्ञान र प्रविधिमा अगाडि बढ्न नसकेसम्म देशको आर्थिक समृद्धि नहुने उल्लेख गर्दैं नयाँ सोचसहित विश्वविद्यालयको परिकल्पना गरिएपनि पुरानै विषयको अध्यापन गराउने उद्देश्य राख्नुले अन्य विश्वविद्यालयसँग खासै तात्विक फरक नदेखिएको बताए । उनले पनि सरकारको सोच अनुसारको विधेयक आउन नसकेको बताए ।

सांसदहरुको प्रश्नको जवाफ दिदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयको मूल फोकस साइन्स र टेक्नोलोजिमा नै भएको तर अन्य विषयहरुमाथिको अनुसन्धानलाई पनि समावेस गरेर जानसक्ने किसिको परिकल्पना गरिएको बताए । उनले यो विषयमा छलफल गरेर अगाडि बढ्न सकिने समेत बताए । उनले देशको समृद्धिको लागि जनशक्ति तयार गर्न र प्रविधिको विकास गर्न यो विश्वविद्यालयको आवश्यकता रहेको बताए । विश्व स्तरको विशिष्ट विश्वविद्यालय निर्माण गर्न खोजिएकाले विश्वका ठुला विश्वविद्यालयले अपनाएका नीतिहरु अपनाउन लागिएको समेत बताए ।

मन्त्री पोखरेलले विश्वविद्यालयले विज्ञान र प्रविधिलाई उत्पादनसँग जोडने भएकाले यो अन्य विश्वविद्यालय भन्दा फरक रहेको बताए । उनले २ वर्ष भित्रमा पठनपाठन सुरु गर्ने उद्देश्यले विधेयक निर्माणको प्रकृयामा हुँदै गर्दापनि गठन आदेशबाट कार्यान्वयनलाई अगाडि बढाईसकेको बताउ । उनले यो विश्वविद्यालय आर्थिक रुपमा पनि आफैमा निर्भर रहने गरी लगानी र उत्पादनलाई जोडिएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *