चन्दा बाँड्न करोडौं रकमान्तर : साढे २४ अर्व रकमान्तर गरी खर्च

डिसी नेपाल
२९ माघ २०७६ १९:१५

काठमाडौं । सरकारले विभिन्न व्यक्ति तथा संस्थाहरुलाई आर्थिक सहायता बाड्नका लागि ठूलो रकम बजेटबाट रकमान्तर गरेको भेटिएको छ ।

बुधबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को बजेटको अर्धवार्षिक समिक्षा प्रतिवेदनमा साढे २४ अर्व रकमान्तर गरि खर्च गरेको उल्लेख गरिएको छ । त्यसमध्ये ११ करोड रकम विभिन्न व्यक्ति तथा संस्थालाई सहायता बाड्नका लागि रकमान्तर गरिएको हो ।

मन्त्रालयको प्रतिवेदन अनुसार कानुन बमोजिम कर्मचारीलाई उपदान, संचित बिदा, औषधी उपचार र मृतक कर्मचारी सहायता शिर्षकको खर्चका लागि ५ करोड ४६ लाख रकमान्तर गरी निकासा गरिएको छ । यसैगरी, मन्त्रीपरिषद्ले निर्णय गरी आर्थिक सहायता उपलब्ध गराउनका लागि समेत ५ करोड ५२ लाख रकमान्तर भएको छ ।

विशिष्ट व्यक्तिको भ्रमण तथा अतिथि सत्कारका लागि भन्दै ठूलो रकम रकमान्तर गरी खर्च गरिएको पाइएको छ । यसका लागि १२ करोड २५ लाख रुपैयाँ रकमान्तर भएको अर्थले जनाएको छ ।

यसैगरी, १३ औं दक्षिण एशियाली खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद्लाई २ अर्व ४५ करोड र सुरक्षा निकायलाई ५ करोड ६६ लाख तथा उपनिर्वाचनका लागि निर्वाचन आयोगलाई २५ करोड र सुरक्षा निकायलाई १४ करोड ७४ लाख रकमान्तर गरि निकासा गरिएको छ ।

यस्तै, विभिन्न निकायलाई चालु खर्चवापत ४२ करोड ९० लाख, सार्वजनिक संस्थामा ऋण लगानीमा लागि ८० लाख, घरजग्गाको मुआब्जाका लागि ६ करोड ८९ लाख, विभिन्न निकायलाई पुँजीगत खर्च वापत २८ करोड २९ लाख रकमान्तर गरिएको छ ।

मन्त्रालयले प्रदेश र स्थानीय तहलाई विषेश अनुदानका लागि ९ अर्व ४२ करोड ८६ लाख र समपुरक अनुदानका लागि ९ अर्व ६३ करोड २४ लाख रकमान्तर गरिएको छ । यसैगरी हिमाली जिल्लाहरुमा मौसम प्रतिकुलताका कारण गत आवमा अधुरा आयोजना सम्पन्न १ अर्व ३२ करोड ८२ लाख रुपैयाँ रकमान्तर गरि निकासा दिएको उल्लेख गरेको छ ।

यसअघि मन्त्रालयले मासिक रुपमा रकमान्तरको विवरण सार्वजनिक गर्दै आएको थियो । तर, रकमान्तर गरी टुक्रे आयोजनालाई बजेट बाडेको र मन्त्रीपरिषद्बाट निर्णय गरी जथाभावी आर्थिक सहायता बाडेको आलोचना हुन थालेपछि मन्त्रालयले रकमान्तरको विवरण गोप्य राख्दै आएको थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा सरकारले कुल बजेटको २७.६ प्रतिशत मात्र खर्च गरेको छ । लक्ष्य अनुसार खर्च नभएपछि अर्थमन्त्री युवराज खतिवडाले बजेटको आकार समेत संसोधन गरी १३ खर्व ८५ अर्वमा झारेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *