भ्रष्टाचार आरोपित न्यायाधीशद्वारा सर्वोच्चमा रिट

डिसी नेपाल
२९ माघ २०७६ २०:५८

चितवन । चितवन जिल्लाका न्यायाधीश विनोदकुमार गौतमले ललिता निवास रहेको बालुवाटारको जग्गा प्रकरणमा आफूलाई कारवाही नगर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । भ्रष्टाचारको आरोप लागेका जिल्ला न्यायाधीश गौतमले वारेस मञ्जिल खनालमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विपक्षी बनाई दायर गरिएको रिट निवेदनमा काम कारवाही नगर्न माग गरिएको छ ।

रिट निवेदनमा नेपालको संविधानले न्यायाधीशलाई कारवाही गर्ने अधिकार न्यायपरिषद्लाई मात्र भएको र अख्तियारलाई न्यायाधीशमाथि कारवाही गर्ने अधिकार नै नभएको उल्लेख छ । “आयोगका अनुसन्धान अधिकृतलाई न्यायाधीश उपर अनुसन्धान गर्न अख्तियार नै नभएकाले दूषित तवरबाट भएको अनुसन्धान र आरोपपत्र दायर गरेकै कारणबाट न्यायाधीश निलम्वन हुन सक्दैन”, रिट निवेदनमा भनिएको छ, “भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम न्यायाधीश स्वतःनिलम्वन हुन पनि त्यसको अनुसन्धान र अभियोजन न्यायपरिषद्बाट मात्र हुनुपर्छ ।”

न्यायाधीश गौतमले आफूमाथि मुद्दा चलाउने अख्तियारको यही माघ २२ गतेको निर्णय र माघ २३ गतेको निलम्वित गर्ने असंवैधानिक भएको उल्लेख गर्दै न्यायाधीशका रुपमा काम गर्न दिन र आफूमाथिको कारवाही यथास्थितिमा राख्न अन्तिरम आदेश माग गरिएको छ । रिट निवेदनमा भनिएको छ, “निवेदनको अन्तिम किनारा नभएसम्म दायर भएको आरोपपत्रमा कुनै कारवाही नगर्नु, स्वतःनिलम्वनमा नराख्नु, आफ्नो पदमा रही यथावत कार्यसम्पादन गर्न दिनु भनी अन्तरिम आदेश जारी गरी पाउँ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *