काङ्ग्रेस र कम्युनिष्टको विकल्प राप्रपा : कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले “पार्टीलाई उठाउने संकल्प अनि संकल्प कार्यान्वयन गर्ने क्रममा केन्द्रीय महाधिवेशन” सफलता पूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।
थापाले थपे, “महाधिवेशन औपचारिक प्रक्रिया मात्र होइन, संगठन निर्माणको आन्दोलन र अभियान हो।’ पार्टीको “बागमती प्रदेश स्तरीय निर्वाचन अभिमुखिकरण बैठक”लाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै थापाले संगठन निर्माणको जगमा पार्टीलाई राष्ट्रिय राजनीतिमा स्थापित गराउने दृढता ब्यक्त गरे।
काङ्ग्रेस र कम्युनिष्टको बिकल्पको रुपमा राप्रपालाई अगाडि बढाउन देशभरका कार्यकर्ताको प्रतिबद्धता र मेहनतको जरुरी भएको समेत थापाले चर्चा गरे। सकृय सदस्यताको आधारमा महाधिवेशन प्रतिनिधि हुने बिषयलाई नेताहरुले गम्भीरतासाथ लिई काम गर्न थापाको आग्रह थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता दिपक बोहराले देशब्यापी रुपमा संगठन सुदृढीकरण अभियानमा लाग्नुपर्नेमा जोड दिए। पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले पार्टी र नेतृत्व प्रती चलाईएको भ्रम र घेराबन्दीलाई तोडेर अघि बढ्नुको बिकल्प नभएको बताए।
कार्यक्रममा बागमती प्रदेशका तेह्र जिल्लाका तिन सय पाँच प्रतिनिधिको सहभागीता थियो। केन्द्रीय पदाधिकारी सदस्य, प्रदेश समिती, जिल्ला-नगर-क्षेत्र र गाउँ पालिका प्रमुख र जनबर्गिए संगठनका प्रमुखहरुको सहभागीता रहेको कार्यक्रममा निर्बाचन समितिका अध्यक्ष तोरण बहादुर गुरुङ र बागमती प्रदेश अध्यक्ष बिक्रम बहादुर थापाले समेत बोलेका थिए भने जिल्ला अध्यक्षहरुले धारणा राखेका थिए।
Facebook Comment