मन्त्री बास्कोटा भन्छन्– राती सुतेको बेला हैरानी गराउनेले दनक नखाएर के खाने ?

डिसी नेपाल
२ फागुन २०७६ १५:४६

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले डिजिटल क्षेत्रलाई बैधता दिन सूचना प्रविधि विधेयक ल्याइएको बताएका छन् । क्यान इन्फोटेक २०२०को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले डिजिटल क्षेत्रको पारदर्शीता, सुशासन र यसको बैधताका लागि विधेयक ल्याइएको बताए ।

विधेयक पारित नभए डिजिटल कारोबारले बैधता नपाउने समेत उनले बताए । विद्युतिय कारोबार ऐन भन्दा सूचना प्रविधि विधेयक धेरै लचक भएको भएपनि त्यस्तो कुराहरुलाई कसैले नहेर्ने गरेको आरोप लगाए ।

विधेयकमा दण्ड जरिवाना बढी भएपनि त्यसलाई अझै मिलाउन सकिने अवस्था भएको उल्लेख गर्दै बास्कोटाले भने, ‘एउटा स्याल चल्ला टिप्ने हुन्छ । उसले चिल आयो चिल आयो भनेर कराउँछ । त्यसपछि मान्छे आकाशतिर हेर्छ । स्यालले चल्ला टिप्छ । अभिव्यक्ति स्वतन्त्रता भनेर कराउने तर डिजिटल क्षेत्रमा पारदर्शीता र सुशासन आएको नहेर्ने ?’

बास्कोटाले सामाजिक सञ्जालमा कसैलाई निरन्तर गलत नियत राखेर जिस्क्याउनेलाई कारवाही हुने भन्ने शब्दको अन्य अर्थ लगाएर व्याख्या भइरहेको बताए । हल्ला गर्नेहरुले नीजि क्षेत्रको अराजकतावादलाई प्रोत्साहन गर्न खोजेको उल्लेख गर्दै बास्कोटाले भने, ‘जिस्काए वाफत सजाय हुने भन्ने कुरामा यत्राे हैरानी ? हैरानी गर्न पाइन्छ । कस्तो कल्चर हो यो ? कसलाई हैरानी गर्ने ? आफ्नालाई हैरानी गरे त ठिकै छ । अंगालो मारेपनि राम्रै हो । अर्कासित हैरानी गर्ने । राति सुतेको बेला पनि हैरानी गराउन थालियो भने दनक नखाए के खाने ?’

शुक्रबारबाट क्यान इन्फोटक मेला २०२० सुरु भएको छ । कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले आयोजना गर्ने सूचना प्रविधि सम्बन्धि प्रदर्शनीमा १ सय ८५ भन्दा बढी स्टलहरु रहेका छन् । मेला ७ गतेसम्म सञ्चालन हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *