कोरोना भाइरस : जापानमा २ जनाको ज्यान गयो

टोकियो। नेपालकाे उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै आतंकित बनाइरहेको छ। चीनमा मात्र कम्तिमा १३ सय मानिसको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ भने ४५ हजारभन्दा धेरै संक्रमित भएका छन्।
यसरी विश्वभर आतंक मच्चाइरहेको यो रहस्यमयी भाइरसले जापानमा पनि २ जनाको ज्यान लिएको छ । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार अपरान्हसम्ममा जापानमा यो भाइरसले गर्दा २ जनाको ज्यान गएको हो । चारदिन अघि चीनमा रहेका एक जापानीको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको थियो भने बिहीबार जापानमै अर्का एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै १२ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । गम्भिर अवस्थामा उपचाररत मध्ये ४ जना जापानी नागरिक भएको पुष्टि भएपनि अन्यको बारेमा खुलाइएको छैन् ।
चीनबाट चार्टर विमानमा ल्याइएका ६ सय जापानीहरू मध्ये २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ४ जना तिनै संक्रमित मध्ये भएको जापानी समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।
अन्य ८ जना योकोहामा पोर्टमा क्वारेन्टाइन गरिएको डायमन्ड प्रिन्स क्रुजमा रहेकाहरू हुन् । २७ सय यात्रु रहेको उक्त पानी जहाँजमा रहेका मध्ये हालसम्म २ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये १ सय १० जना जापानी नागरिक भएको खुलाएपनि जापानी अधिकारीहरूले थप विवरण सार्वजनिक गरेका छैनन् । १८ देशका नागरिक रहेको उक्त पानी जहाजमा रहेका मध्ये हालसम्म ७ सय १३ जनाको मात्र स्वास्थ्य परिक्षण सकिएको छ ।
Facebook Comment