‘अन्नपूर्ण आधार शिविरमा पर्यटकलाई कुनै असुविधा छैन’
पोखरा। अन्नपूर्ण पदयात्रा मार्गमा पर्यटन व्यवसायमा सक्रिय छोम्रोङ पर्यटन व्यवस्थापन समितिले विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी)मा पुग्ने पर्यटकलाई अब कुनै प्रकारको असुविधा नरहेको स्पष्ट पारेको छ।
गत माघ ३ गते पदयात्रा मार्गको हिंकुकेभ र देउरालीको बीच भागमा हिमपहिरो जाँदा कोरियाली पर्यटक र नेपाली नागरिक गरी सात जना बेपत्ता भएपछि अहिले पदयात्रा मार्ग पूर्ववत् अवस्था फर्किएको र पदयात्री पर्यटक आधार शिविरमा पुग्न थालेको बताइएको छ।
समितिले शनिबार एक वक्तव्य जारी गरी हिमपहिरोले बन्द भएको अन्नपूर्ण सेञ्चुरी पदमार्ग पुनःसञ्चालनमा आएको, घान्द्रुकबाट छोम्रोङ हुँदै एबीसीसम्म पदयात्री पर्यटक पुग्न थालेको र पदमार्गमा पर्ने सम्पूर्ण होटल खुलिसकेको जनाएको छ।
समितिका अध्यक्ष बुद्धिमान गुरुङले हिमपहिरो आएपछि होटल बन्द गरेर पोखरा गएका कामदारसमेत पुनः होटल फर्किसकेको तथा मौसम सफा भएको र हिउँ घटिरहेकाले पदमार्ग सुरक्षित रहेको बताए।
उनले भने, “होटल सञ्चालक र कामदार फर्किसकेकाले पर्यटकलाई कुनै असुविधा हुँदैन नेपाल भ्रमण वर्ष सन् २०२० चलिरहँदा हामी आन्तरिक र बाह्य पर्यटकलाई आतिथ्यता दिन आतुर छौँ।” समितिको अग्रसरतामा हिमपहिरो गएको ठाउँमा हिँड्न मिल्ने गरी बाटो बनिसकेको र अन्यत्रसमेत कुनै कठिनाइ नरहेको बताइन्छ।
हिमपहिरो पछि हालसम्म १७ पर्यटक, पथप्रदर्शक र सहयोगी एबीसी पुगिसकेको समितिका सचिव दिलीप गुरुङले जानकारी दिए। पदमार्गको झिँनु, घुर्सुङ, किम्रोङखोला, छोम्रोङ, सिनुवा, बम्बु, दोभान, हिमालय, देउराली, माछापुच्छे« बेस क्याम्प (एमबीसी) र एबीसीमा गरी ६० होटल सञ्चालनमा छन्।
समितिले एबीसी आउने पर्यटकलाई मौसम पूर्वानुमान, स्थानीय व्यवसायी र अनुभवी गाइडसँग समन्वय गर्न भने आग्रह गरेको छ। सचिव गुरुङले हिमपहिरोमा बेपत्ता पर्यटकको खोजी कार्य अहिले पनि जारी रहेको र घटनास्थलमा निरन्तर निगरानी गरिरहेको जानकारी दिए। हिउँ पग्लने क्रम शुरु भएकाले छिट्टै बेपत्ताको अवस्था पत्ता लाग्ने उनको भनाइ छ। रासस
Facebook Comment