सञ्चारमाध्यमलाई प्रधानमन्त्रीको कटाक्ष, भोलि पनि बाँसुरी बजाएको फोटो छाप्छन्
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गरेका छन्। ञ्चारमाध्यमको भूमिका, संञ्चारमाध्यममा आएका समाचारप्रति सधै असन्तुष्टी जनाउँदै आएका प्रधानमन्त्री ओलीले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा पनि संञ्चारमाध्यमले दिने गरेको प्राथमिकताको विषयमा गुनासो गर्न बिर्सिएनन्।
काठमाडौं उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको उद्घाटन समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले प्रविधिको सुरुवात भएको समाचार दिनुको सट्टा केही संचार माध्यमले फेरि पनि बाँसुरी नै बजाएको समाचार दिने बताए। आफूले भनेको विषयलाई हुबहु नराखेर तोडमोड गरी अर्नगल प्रचार गर्ने गरिएको गुनासो गरे।
‘कुनै कुनै सञ्चार माध्यमले यो न्यूज दिन भन्दा बाँसुरी बजाएको न्यूज दिन्छन् भोलि पनि। दया लाग्छ, देश विकास हुन लाग्दा पीर किन परेको त्यो छक्क लाग्छ। कुनै कुनै भन्ने शब्द प्रयोग गर्या छु। कुनै कुनै भन्ने शब्द बिर्सिन्छन् अनि यसो भन्यो भनेर कुनै कुनै शब्द काटेर पठाउँछन्। भोलि पनि हेर्नुहोला बाँसुरी बजाएको फोटो छाप्छन्। यो फोटै छाप्दैनन्,’ उनले भने।
उनले बुद्धिजिवीको बौद्धिकता देख्दा दया लाग्ने गरेको बताए। सरकार देश विकासमा अघि बढिरहेका बेला सहकार्य गर्नुको सट्टा केहीले मजाकको विषय बनाउने गरेको गुनासो उनले गरे। आफूले तुइन विस्तापित गर्छु भन्दै प्रगति पेस गर्दै गर्दा संचारमाध्यमले दार्चुला पुगेर भएपनि तुइनको फोटो खिचेर छाप्ने गरेको गुनासो उनले गरे।
‘मैले देखेँ एक जना बुद्धिजीवीले नधम्क्याउनुहोस् प्लीज भनेर भनेको, मैले धम्क्याएरै हैरान पारेँ अरे। अनि मलाइँ चाँहि यो बौद्धिकता देख्दा दया लाग्छ। देश विकास मजाक होइन। देश विकास आग्रह पूर्वाग्रहको विषय होइन। देश विकास साझा अभिभारा हो। साझा कर्तव्य हो। हामी विकास गरिरहेका छौं भने खुसी हुनुपर्ने। तुइन विस्थापित भएकोमा रुवाबासी छ कतिको। अचम्म लाग्छ, दार्चुला पुगेर फोटो खिचेर ल्याउँछन्। दुईवटा तुइन विस्थापित गर्न बाँकी छ त्यहाँ। कति दुख गर्या होला,’ उनले भने।
उनले सरकारको विकास निर्माण र शुसासनका काम देखेर खुसी हुनुपर्नेमा पीर किन परेको? भनी प्रश्न गरे। उनले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत सुदृढीकरण र स्वचालित गर्ने काम रातिमा गरिने भएकाले त्यसले कसैलाई असर नगर्ने स्पष्ट पारे।
उनले भने, ‘सर्वसाधरण कोहीपनि, कसैलाई पनि यसले दुख दिँदैन। किन भने यो काम आज सुरु मात्रै दिउँसो गरिएको हो। सबैले देखुन् भनेर। सुरु भएको जानकारी होस् भनेर। पत्रकारको पनि निद्रा नबिगारौं भनेर।’
Facebook Comment