सरकार परिवर्तनको पक्षमा काँग्रेस छैन : उपसभापति निधि

डिसी नेपाल
५ फागुन २०७६ १४:१७

चितवन। नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले आफ्नो पार्टी अहिले सरकार परिवर्तनको पक्षमा नरहेको बताएका छन्।
नेपाल प्रेस युनियन चितवनले साेमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काँग्रेसको अहिलेको रुचिको विषय सरकार परिवर्तन नरहेको प्रस्ट पारे।

सरकार परिवर्तनको विषय सत्ता पक्षको आन्तरिक विषय भएको उनको भनाइ थियो। उपसभापति निधिले भने, “हामी सरकार ढाल्नेमा छैनौँ। आफ्नै महाधिवेशनको तयारीमा जुटेका छौँ।”

उनले नेपाली काँग्रेसको चौधौँ महाधिवेशन सार्वजनिक भएको तालिकाअनुसार नै सम्पन्न हुने बताउँदै पार्टीभित्र सैद्धान्तिक विषयमा कुनै मतभेद नरहेको तथा पार्टी विधान र सहमतिअनुसार नै चलेको छ भने।

काँग्रेस प्रतिपक्षको भूमिकामा नचुकेको दाबी गर्दै उहाँले सरकारले ल्याएका जनविरोधी कानून जस्ताको तस्तै पारित गर्न काँग्रेसले नै रोकेको उनले बताए। काँग्रेस जिम्मेवार र शालीन प्रतिपक्ष भएकाले आफ्नो भूमिका पनि सोही अनुसारको रहेको उनको भनाइ थियो।

उपसभापति निधिले सरकारको दुई वर्ष पूर्णरुपमा असफल भएको आरोप लगाउँदै उक्त अवधिमा महँगी बढेको, शान्तिसुरक्षा कायम हुन नसकेको, विदेश नीति कमजोर बनेको र विकास निर्माण हुन नसकेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *