सजिलै करोडपति बन्ने मेसो फेला पारेपछि…
काठमाडौं। करोडौं कमाउने सबैको इच्छा हुन्छ। अझ आर्थिक अवस्था नाजुक भएका तर, शहरको रंगीचंगी देखिरहेकाहरुलाई त जसरी पनि करोडपति हुने रहर जाग्छ। तर, जब यो रहर पुरा गर्न मानिसले अपराधको बाटो समात्छ अनि जन्मिन्छन् रामचन्द्र कुँवरहरु।
बागलुङको बागलुङ नगरपालिका २ पैयुपाटा घर भई ललितपुरको इमाडोल बस्दै आएका ३४ वर्षीय रामचन्द्र कुँवर जसरी पनि करोडपति बन्ने धुनमा थिए। यस्तै सपना बोकेका कार्भेपलाञ्चोकको चौउरे देउराली घर भई ललितपुरको इमाडोल बस्दै आएका ३४ वर्षीय गणेश लामासँग कुँवरको भेट भयो।
दुबैको सपना एउटै – जसरी पनि करोडपति बन्ने। एउटै सपना बोकेका दुई युवाले सपना पूरा गर्न अपराधको बाटो रोजे। करोडपति बन्ने सजिलो मेसो पत्ता लगाए। र योजनाअनुसार ‘मुर्गा’ खोज्न थाले। उनीहरुको योजना थियो – अमेरिका जान लागेकाले भन्दै एक दिनका लागि आफ्नो बैंक खातामा रकम जम्मा गरिदिने मुर्गाको खोजी। यसरी आफ्नो योजनाअनुसारको ‘मुर्गा’ फसाएपछि उनीहरु बेपत्ता हुने गरेका थिए। यसरी यो जोडीले करोडौं ठगेको खुलेको छ। पछिल्लो पटक उनीहरुले मुर्गा बनाइएकी सानुमाया लामाको एक उजुरीका कारण उनीहरुको ठगिधन्दामा पूर्ण विराममात्र लागेको छैन, उनीहरु प्रहरीको फन्दामा परेका छन्।
नुवाकोट घर भई काठमाडौंको तारेकेश्वर बस्ने सानुमाया लामालाई यो गिरोहले एक दिनका लागि बैंक खातामा ६० लाख रुपैयाँ जम्मा गर्न लगाउँछ। र सानुमायालाई मोटो रकम ब्याज दिने बताउँछ। यसरी एकरातमै मोटो रकम ब्याज पाउने भएपछि सानुमायाले प्राइम बैंकमा रहेको रामचन्द्र कुँवरको खातामा ६० लाख रकम जम्मा गरिदिन्छिन्।
भोलीपल्टै कुँवर र लामाले प्राइम बैंकका विभिन्न खाताबाट सो रकम निकाल्छन् र वेपत्ता हुन्छन्। ब्याजाको मायाँले ६० लाख सावाँ डुबेपछि सानुमायाले प्रहरीमा उजुरी गरिन्। महानगरीय अपराध महाशाखा काठमाडौंको प्रहरीले कुँवर र लामालाई आइतबार भक्तपुरबाट पक्राउ गरेको छ। यो गिरोहले अन्य मानिसहरुबाट कम्तिमा ७० लाख रुपैयाँ पनि ठगेको अपराध महाशाखाका प्रहरी उपरीक्षक मुकेश सिंहले जनाए। उनले यो गिरोहले अरु धेरैलाई पनि ठगेको हुनसक्ने सम्भावना रहेको बताए।
प्रहरीले उनीहरुमाथि ठगि आरोपमा मुद्दा चलाउने तयारी गरेको छ।
Facebook Comment