वैदेशिक सहयोगमा निर्माण भएका सडकमा समस्या

डिसी नेपाल
५ फागुन २०७६ १९:४२

काठमाडौं । वैदेशिक सहयोगमा निर्माण भएका विभिन्न सडक आयोजना निर्माणको छोटो समयमा कालोपत्र उप्कने, खाल्डाखुल्डी पर्नेलगायतका समस्या देखिएको छ । वैदेशिक अनुदान वा ऋण सहयोगमा निर्माण भएका काठमाडौँ उपत्यका बाहिरका विभिन्न सडकमा समस्या देखिरहेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ ।

केही समय पहिले स्थलगत निरीक्षणका क्रममा सुर्खेत–जुम्ला सडकखण्ड पुगेको विकास तथा प्रविधि समितिको टोलीले सो सडक निर्माण भएको छोटो अवधिमै समस्या आएको बताएको थियो । त्यो सडकसँगै बसन्तपुर–मुडे सडकखण्ड, गल्छी स्याप्रुवेंशी, तेह्थुमलगायतका सडकमा समस्या देखिएको महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए ।

उनका अनुसार कालोपत्र गरेको केही वर्षपछि नै यी सडकमा समस्या देखिएको हो । सडकको डिजाइनदेखि नै समस्या देखिने गरेको हो । उनले भने, “डिजाइनमा त्रुटिदेखि निर्माण सामग्रीसम्ममा समस्या पाइएको छ ।” वैदेशिक सहयोगमा निर्माण हुने सडक आयोजनामध्ये कतिपयमा स्वदेशी त कतिपयमा विदेशी निर्माण कम्पनीले काम गरेका छन् ।

निर्माण व्यवसायी स्वदेशी वा विदेशी जेसुकै हुँदा पनि त्यसको नियमन सम्बन्धित वैदेशिक संस्थाले नै गर्ने गरेको छ । नेपालमा ऋण सहयोग र अनुदान सहयोग दुवैमा विभिन्न सडक आयोजना निर्माण भइरहेका छन् । महाशाखाका प्रमुख थापाका अनुसार काठमाडौँ उपत्यकामा बनेका वैदेशिक सहयोगका सडकमा भने समस्या पाइएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *