कालापानी क्षेत्रको हेलिकोप्टरबाट निरीक्षणपछि के भने उपप्रधानमन्त्री पोखरेलले?

डिसी नेपाल
५ फागुन २०७६ २०:३१

दार्चुला। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार हेलिकोप्टरबाट दार्चुलाको कालापानी क्षेत्रको निरीक्षण गरे। मौंसमले साथ नदिँदा हेलिकोप्टरबाटै निरीक्षण गरेको उनको भनाई छ।

निरीक्षणपछि उपप्रधानमन्त्री पोखरेलको भनाईः

जिल्लाका जनप्रतिनिधिहरू (प्रतिनिधिसभाका सदस्य, प्रदेश सभाका सदस्यहरू, नेपाली सेनाका तर्फबाट सीमा सुरक्षा हेर्ने समन्वय अधिकारी तथा संचारकर्मी सहित) दार्चुला ज़िल्लाको कालापानी क्षेत्रको संवेदनशील र अतिक्रमित भूमिको निरीक्षण गर्ने काम गरियो। बाक्लो हिमपातका कारण अवलोकन गर्न चाहेका केही महत्वपूर्ण ठाउँहरूमा स्थलगत भ्रमण गर्न अनुकूलता बनेन। तर पनि यसपटकको ती संवेदनशील र अतिक्रमित ठाउँहरूको स्थलगत अवलोकन भ्रमणले सरकारका तर्फबाट गर्नुपर्ने कामहरू सुनिश्चित गर्न थप सहयोग पुगेको छ।

ऐतिहासिक तथ्य प्रमाणहरू तथा सिंगो मुलुकका राजनीतिक शक्तिहरूको साझा र संयुक्त अडानका बलको आधारमा गम्भीर राजनीतिक, कुटनीतिक पहललाई अविलम्व अघि बढाउनु त जरूरी छ नै।

साथै, पूर्वाधारका ज्वलन्त कामहरू (खासगरी दार्चूला टिंकर भन्ज्यांग सडक बनाउनु पर्ने काम) लाई जुनसुकै तरिकाबाट भए पनि ढिलो नगरी सम्पन्न गर्नुपर्ने छ र आवश्यक र संवेदनशील स्थानमा सुरक्षा अंगहरूको उपयुक्त पोस्टिंग गर्नुपर्ने छ।

हो , हामी गर्छौ – केपी शर्मा ओलीको नेतृत्वको कम्युनिष्ट पार्टीको सरकारले यी काम ढिलाइ नगरी गर्नेछ, अघि बढाउनेछ। इतिहासले लामो समयदेखि अकर्मण्यतासाथ अधूरै छोडेका राष्ट्रिय अभिभारा हामी पुरा गर्नेछौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *