राज्यमन्त्री दुगड र युएइका ऊर्जामन्त्रीबीच भेटवार्ता
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले संयुक्त अरब इमिरेट्स (युएइ) का ऊर्जा तथा उद्योगमन्त्री सुहाइल मोहमेद फराज अल मजुरेइसँग भेटघाट गरेका छन् ।
राज्यमन्त्री दुगड दुबई राजधानी शहरमा आगामी अक्टोबर २० (विसं २०७७ कात्तिक ४) देखि करीब छ महिनासम्म आयोजना हुने एक्सपो २०२० को तयारीका सिलसिलामा गत शनिबार युएइ गएका हुन् ।
सो मेलाको नारा ‘मनहरु जोड्दैः भविष्य सिर्जना गर्दै’ भन्ने रहने छ।
उनीहरुबीचको भेटमा द्विपक्षीय सम्बन्धका साथै दुई मुलुकले जलविद्युत् नवीकरण र ऊर्जा तथा पर्यटन क्षेत्रका विकासमा लगानी गर्न सक्ने विषयमा छलफल भएको थियो।
राज्यमन्त्री दुगडले नेपालमा कृषि, पर्यटन, जलविद्युत्, ऊर्जालगायत क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै युएइ सरकारलाई नेपालमा लगानीका लागि आह्वान पनि गरे ।
सो अवसरमा युएइका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल र दूतावासका पदाधिकारीको समेत उपस्थिति थियो।
यसअघि सन् २०१५ मा मिलान, २०१७ मा नुर–सुल्तान र २०१९ मा बेजिङ भएको त्यस्तै एक्सो २०२३ मा ब्युनस आयर्स र २०२५ मा ओसाकामा हुने जनाइएको छ।
Facebook Comment