सङ्घीय सरकारले तराई–मधेशको विकासलाई उच्च प्राथमिकता दिएको छ : राष्ट्रपति

डिसी नेपाल
६ फागुन २०७६ २३:००

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आराध्यदेव शिवको पूजार्चना गरी मनाइने मधानी पर्वलाई उजागर गर्न महायज्ञले ठूलो भूमिका खेल्ने बताएकी छन् । मौलापुर नगरपालिका वडा नं ५ पतौरामा मंगलबारदेखि शुरु भएको ऐतिहासिक मौलापुर मधानी महायज्ञ महोत्सवको उद्घाटन गर्दै उनले कर्णाटकालीन इतिहास बोकेको पुरातात्विक धरोहर रहेको सिम्रौनगढ नगरीसँंगै जोडिएको पतौरामा हजारौंँ वर्ष पुरानो महादेव मन्दिरको अवशेष भेटिएकाले यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।

ऐतिहासिक अवशेषले नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्न ठूलो सहयोग पु¥याउने उनले बताइन् । छोरी शिक्षालाई प्रभावकारी बनाउन प्रदेश नं २ सरकारले सञ्चालन गरेको ‘बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रम प्रशंसनीय रहेको बताउँदै उनले ऐतिहासिक कालदेखि नै ज्ञानको प्रकाश छरिँदै आएको सो क्षेत्रमा दाइजो, तिलक, बालविवाह, छुवाछुत, महिला हिंसा, बोक्सीप्रथा अहिले पनि विभिन्न रुपमा बाहिर आउने गरेकामा चिन्ता व्यक्त गरिन्।

सभ्य र समृद्ध समाज विकासमा अग्रसर भइरहेको वर्तमान परिवेशमा सबै प्रकारका विकृति, विसङ्गति र कुरीतिलाई जरैदेखि नै उखेलेर फाल्नुपर्नेमा राष्ट्रपतिले जोड दिइन् । सांस्कृतिक गौरव माथि उठाउन तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई उच्च सम्मान गर्न सरकार तत्पर रहेको बताउँदै उनले निरक्षरता उन्मूलन र रोजगारी प्रवद्र्धन गर्न स्तरीय, व्यावसायिक र प्राविधिक शिक्षा उपलब्ध गराएर औद्योगिक विकासमा जोड दिन आग्रह गरिन्। प्रचूर सम्भावना बोकेको प्रदेश नं २ मा पर्यटन प्रवद्र्धन गर्नका लागि आवश्यक पूर्वाधार विकास गर्न जरुरी रहेको पनि उनको भनाइ थियो ।

विदेशी पर्यटक भित्र्याउन महत्वपूर्ण टेवा पु¥याउने दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणमा स्थानीयस्तरबाट मिलेको समर्थनले सरकारलाई थप बल पुगेको उनको धारणा थियो । काठमाडौँ –तराई जोड्ने काठमाडौँ–निजगढ द्रुतमार्ग र अन्तरराष्ट्रिय विमानस्थल निर्माण पूरा भएपछि यस क्षेत्रमा विदेशी पर्यटक भित्र्याउन सहज हुने विश्वास पनि उनले व्यक्त गरिन् ।

सङ्घीय सरकारले तराईको विकासलाई उच्च प्राथमिकता दिँदै हुलाकी मार्ग निर्माण चाँडो सम्पन्न गर्न लागेको बताउँदै उनले तराईमा आधुनिक एकीकृत बस्ती निर्माण गर्न, जनता आवास कार्यक्रमलाई प्रभावकारी गराउन, स्वास्थ्य केन्द्रको प्रवद्र्धन गर्न र कृषिलाई आधुनिकीकरण गर्न सरकारले ल्याएको कार्यक्रमको उनले सराहना गरिन्।

सो अवसरमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मधानी महायज्ञ महोत्सवले प्रदेश नं २ को पर्यटन प्रवद्र्धन गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त व्यक्त गरे । छोरी शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेश सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानलाई उच्च प्राथमिकता दिएको जानकारी उनले दिए। “ विक्रम संवत् २०७५ यता जन्मेका प्रदेश २ का छोरीहरु अहिले तीन लखिया भइसकेका छन्”, उनले भने, “प्रदेश २ का स्थानीय तहले पनि प्रदेश सरकारको रकममा थप तीन लाख रुपियाँ थपेर ६ लाख बनाउनुपर्छ ।” प्रदेश २ का धेरै स्थानीय तहले अभियानलाई सघाउँदै तीन तीन लाख कोषमा थपेका छन् । मौलापुर नगरपालिकाका प्रमुखलाई पनि छोरी शिक्षा बीमाका लागि तीन लाख कोषमा थप्न उनले आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *