लिग विजेता मछिन्द्र सताक्षी गोल्डकपको सेमिफाईनलमा, आर्मीसँग भिड्ने

काठमाडौं । ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा बुधबार गोर्खा ब्वाईज रुपन्देहीलाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्र अन्तिम चारमा पुगेको हो ।
मछिन्द्रले १ गोलले पछि परेको स्थिति उल्टाएर गोर्खालाई हराएको हो । मछिन्द्रको जितमा आन्द्रेस निया र विमल घर्ति मगरले एक एक गोल गरे । गोर्खाका काजिमले एक गोल फर्काए ।
अब मछिन्द्रले सेमिफाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । लिगको उपविजेता आर्मी दार्जीलिङको एमएफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगिसकेको छ ।
सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख नगद पाउने छ। उपविजेताले ३ लाख पाउने छ । यस्तै प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्टले ५० हजार र हाइ स्कोररलाई २५ हजार पाउने छन् । त्यस्तै, उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही २०र२० हजार पाउने छन् ।
Facebook Comment