टोटेनहमलाई चोटको चिन्ता, केन पछि सन पनि बाहिर

एजेन्सी । इंग्लिस क्लब टोटेनहम हस्टपरका दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले यो सिजनको बाँकी सबै खेल गुमाउने भएका छन् । टोटेनहमका म्यानेजर जोसे मौरिन्होले चोटका कारण सनले सिजनको बाँकी सबै खेल गुमाउने भएको बताएका छन् ।
सनले इंग्लिस प्रिमियर लिग दौरान एस्टन भिल्लामाथि ३–२ को संघर्षपुर्ण जित निकालेको खेलमा दायाँ हातमा चोट बोक्न पुगेका थिए । दुवै गोल सनले नै गरेका थिए । उनले पहिलो हाफको र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गर्दै टोटेनहमलाई जिताएका थिए ।
चोट बोकेसँगै सनले यो सिजनको सम्भावित १३ खेल गुमाउने भएका छन् । सनको चोटसँगै टोटेनहमलाई फरवार्ड लाइनमा झनै समस्या बढेको छ । यसअघि नै ह्यारी केन चोट बोक्दै मैदान बाहिर छन् । उनी अप्रिलमा फर्कने सम्भावना छ ।
‘उनको दायाँ हात भाँचिएको छ । अब शल्यक्रिया गर्नुपर्ने हुनाले यो सिजन खेलमा फर्कने सम्भावना न्युन छ । मलाई आशा छ उनी छिट्टै मैदान फर्कनेछन्, ‘म्यानेजर मौरिन्होले आरबी लेइपजिगविरुद्धको च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेग अघि भने, ‘मसँग अब स्ट्राइकर नै छैन । १८ वर्षीय ट्राय पारोट छन् । उनी पुरा तयार छैनन् । उनलाई मौका दिनुको विकल्प छैन । केही समय अघि मसँग बेन्चमा आक्रमण गर्ने विकल्प नहुदा चिन्तित थिए । अहिले म सँग पिचमा आक्रमण गर्ने विकल्प छैन ।’ टोटेनहमका मिडिया अफिसरले भने सिजनको अन्तिम खेलहरुमा फर्कन सक्ने बताएका छन् ।
Facebook Comment