डा. खतिवडालाई सञ्चार मन्त्रालयको जिम्मेवारी
काठमाडौं । सेक्युरिटी प्रेस खरिदको विषयमा एजेन्टसँग घुसका लागि कुराकानी गरिरहेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दिएको राजीनामा स्वीकृत भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाको राजीनामा स्वीकृत गरी सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने गरी तोकेकी छन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्वीस कम्पनीका एजेन्टसँग कमिसनका विषयमा छलफल भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले बिहीबार नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।
बास्कोटाले सञ्चारसँगै शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आएका थिए । उनले राजीनामा दिएपछि शहरी विकास मन्त्रालयको जिम्मा भने भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङले सम्हाल्ने भएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सदनलाई ‘मन्त्री बाँस्कोटाले राजीनामा बुझाइसक्नु भएको छ’ भन्ने जानकारी गराएका थिए।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच बिहीबार विहान यही विषयमा डेढ घण्टा लामो छलफल भएको थियो। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदका दुवै सदन मन्त्री बाँस्कोटाको बर्खास्तीको माग गर्दै अवरुद्ध पारेको थियो।
Facebook Comment