कृष्ण कँडेललाई काली पुरस्कार

पर्वत। लोकसाहित्यकार कालीभक्त पन्तको २८ औँ स्मृति दिवसको अवसर पारेर कालीभक्त कृष्णा पन्त स्मृति प्रतिष्ठानले पर्वतको फलेबास स्थित स्मृतिभवनमा आयोजित कार्यक्रममा लोक गायक कृष्ण कँडेललाई पुरस्कृत गरेको छ। टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’ मार्फत लोकगीतमा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए बापत उनलाई एक लाख एकहजार नेपाली रुपैँया नगद सहितको कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोक साहित्य पुरस्कार २०७६ प्रदान गरिएको हो।
यसअघि साहित्यकार सत्यमोहन जोशीलाई यो पुरस्कारबाट पुरस्कृत गरिएको थियो।
साहित्यकार काजी रोशनको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा पुरस्कारका संस्थापक गोविन्दप्रसाद पन्त र ऊर्मिलादेवी पन्तले कडेँललाई पुरस्कार समर्पण गरे।
पुरस्कृत व्यक्तित्व कृष्ण कँडेलले गतवर्ष शताब्दी पुरुष सत्यमोहन जोशीजस्तो मूर्धन्य व्यक्तित्वले प्राप्त गरेको पुरस्कार यसवर्ष आफूलाई प्रदान गरिएकोमा आभार व्यक्त गरे।
प्रतिष्ठानले समाजसेवा क्षेत्रमा उल्लेख्य काम गरेका स्व. हवल्दार पदमबहादुर श्रेष्ठ, फलेवासलाई मरणोपरान्त र श्रीमती मानकुमारी गिरी, कुस्मालाई जनही रु. ५००० सहित सम्मानित गरेको उक्त कार्यक्रममा शारदा मावि, कुर्घा, पर्वतका कक्षा ९ मा अध्ययनरत जेहेन्दार छात्रा अनिता शर्मा र लिमिठाना माविका दलित जेहनदार छात्र सागर सुनारलाई जनही आठ हजार राशीको शिक्षा पुरस्कार प्रदान गर्यो।
कार्यक्रममा प्रा.डा. गजबकुमारी शर्मा तिमिल्सिनाद्वारा सम्पादित ‘कालीभक्त पन्त–प्रजातन्त्रका सेनानी’ तथा ‘नेपाली लोक साहित्यका अग्रपुरुष’को विमोचन गरियो।
अन्तर्राष्ट्रिय लोक साहित्य पुरस्कारका आयोजक साहित्यकार महेश्वर पन्त, पूर्व सांसद अर्जुनप्रसाद जोशी, फलेवास नपाका मेयर पदमपानी शर्मा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति नबराज गुरुङ लगायतका अतिथिहरुको उपस्थिति रहेको उक्त कार्यक्रम प्रतिष्ठानका अध्यक्ष प्राडा पार्थिवेश्वर प्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको हो।
इन्द्रेणी कार्यक्रमका समूहले दोहोरी गीतहरु प्रस्तुत गरी रमाइलो बनाएको बृहद् जनसहभागिता रहेको उक्त कार्यक्रममा इन्द्रेणीका कलाकारहरुका लागि केही सहयोग पनि जुटाइएको थियो।
Facebook Comment