खप्तड गोल्डकप सुरु, पहिलो खेलमा भारतीय क्लब विजयी

धनगढी । भारतको कञ्चनजंगा फुटबल क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा सर्लाहीको बाग्मती फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै भारतीय क्लब अन्तिम ८ मा प्रवेश गरेको हो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा कञ्चनजंगाले बाग्मतीलाई ४–२ गोल अन्तरले हरायो ।
अब भारतीय क्लबले सेमिफाईनल प्रवेशका लागि आयोजक सुदुरपश्चिम–११ संग खेल्नेछ । निर्धारित समय भन्दा केही ढिला सुरु भएको खेलमा बाग्मतीले कुनै अवसर सिर्जना गर्न सकेन । बाग्मतीको तुलनामा भारतीय क्लबले केही राम्रो अवसर सिर्जना गरेको थियो ।
पहिलो हाफको ईन्जुरी समयमा ईल्लाले फ्रिकिकको अवसर पाएका थिए । तर, उनको प्रहारले पोस्टको दिशा लिन सकेन । खेलको म्यान अफ दी म्याच कञ्चनजंगाका निगम चुनिए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको दोस्रो दिन शनिबार ए डिभिजन क्लब एनआरटी र एपीएफ भिड्नेछन् ।
Facebook Comment