मैत्रीपूर्ण फुटबलमा नुवाकोटवासी विजयी

विदुर । महाशिवरात्रि तथा सेना दिवसका उपलक्ष्यमा जबरजङ्ग गण नुवाकोटको आयोजनामा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नुवाकोट जिल्लावासी टोली राष्ट्रसेवक कर्मचारीविरुद्ध ३–१ ले विजयी भएको छ । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा फुटबल सङ्घ नुवाकोटको संयोजनमा सम्पन्न प्रतियोगितामा नुवाकोटवासी टोली सङ्घका उपाध्यक्ष उद्धव पनेरुको कप्तानीमा मैदानमा उत्रेको थियो ।
मध्यान्तरअघि पाएका केही राम्रो मौकाको सदुपयोग गर्न चुकेका राष्ट्रसेवकका खेलाडीले सुन्दर खेल पस्किएका थिए तर नुवाकोटका सन्तोष थापाले खेलको २७ औँ मिनेटमा गोल गर्दै १–० को स्थितिमा पहिलो हाफ सकिएको थियो । कूल ३५–३५ मिनेटको खेलमा मध्यान्तरपछि शुरुआतमै नुवाकोटका राजकुमार कुमालले उत्कृष्ट खेल पस्कँदै एकल प्रयासमा सुन्दर गोल गरी नुवाकोटवासी टोलीलाई २–०को अग्रता बनाउन सफल भए ।
राष्ट्रसेवकले गोल फर्काउने प्रयास जारी राखे पनि नुवाकोटका तर्फबाट आकाश राना मगरले गोल गर्दा अग्रता ३–० मा पुगेको थियो । राष्ट्रसेवकका खेलाडीले गोल प्रयास जारी राख्दा खेलको अन्त्यतिर डी बक्समा नुवाकोटका खेलाडीको ह्याण्ड भएपछि पेनाल्टी सुटआउट पाएको राष्ट्र सेवक टोलीका युवराज खड्काले गोल गर्दा खेल ३–१ मा सकिएको थियो । प्रतियोगितामा प्रथम हुने टोलीलाई शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
Facebook Comment