पशुपतिनाथमा राष्ट्रपति पुग्दा नागाबाबालाई गुप्ताङ्ग छोप्न निर्देशन

डिसी नेपाल
११ फागुन २०७६ ८:५६

काठमाडौं। पशुपति क्षेत्र विकास कोषले नागा बाबाहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको पशुपति दर्शन कार्यक्रमभर कुनै न कुनै बस्त्र लगाएर आफ्नो गुप्ताङ्ग छोप्न निर्देशन दिएको थियो।

कोषको निर्देशनअनुसार नै मन्दिर परिसरमा रहेका बाबाहरुले राष्ट्रपतिको र उपराष्ट्रपतिको सवारी अवधिभर कपडाले गुप्ताङ्ग छोपेका थिए। यसपटकको शिवरात्रिमा जोगी, सन्यासीहरुको संख्यामा ऐतिहासिकरुपमै कमी आएको थियो।

विगत बर्षहरुमा ४ देखि ५ हजारसम्म हुने गरेकोमा यसपटक जम्मा १५ सयको हाराहारीमा मात्र साधु सन्त र जोगी र बाबाहरु देखिएका थिए।

दिनभर सक्रिय प्रहरी रातपरेपछि भने सुस्तायो

शिवरात्रिको कार्यक्रम अवधिभरका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी झण्डै ५ हजार प्रहरी परिचालन गरिएको थियो। विहानैदेखि निकै चुस्त अवस्थामा राखिएको सुरक्षा व्यबस्था राष्ट्रपति भण्डारीको पूजाआजापछि अर्थात् सांझ ६ बजेपछि भने अलि कमजोर भएको थियो ।

उता, साइतअनुसार भने पशुपतिनाथको चार प्रहरको पूजा सांझ ६ बजे, राति ९ बजो, राति १२ बजे र शनिवार विहान ३ बजे गरिएको थियो । गांजा नियन्त्रणमा भने प्रहरीले दिनभर निकै मेहनत गर्नु परेको थियो।

फूलैफूलले ढकमक्क पशुपति

यसपटकको शिवरात्रिमा पशुपतिनाथमा फूलको सजावट ऐतिहासिक देखिएको थियो । भारतका एकजना व्यपारीले २ करोड रुपैंया निजी खर्च गरेर विभिन्न देशबाट फूलहरु मगाई पशुपतिको साजसज्जा गराएका थिए ।

कोरोनाको डरमा मास्क वितरण

पशुपति क्षेत्र कोषले मौसमी रुगाखोकी र छिमेकी देश चीनमा फैलिएको कोरोना भाइरसको खतरालाई मूल्यांकन गर्दै यसपटक दर्शनार्थीहरुका लागि मास्कको व्यबस्था गरेको थियो । कोष स्रोतका अनुसार, करिब ५ लाख रुपैंया बराबरका मास्क किनेर साधु सन्त र दर्शनार्थीहरुलाई वितरण गरिएको थियो ।

राज्यकोषबाट ७० लाख खर्च

महाशिवरात्रि पर्वका लागि राज्यकोषबाट ७० लाख रकम छुट्याइएकोमा सबै रकम खर्च भएको बताइएको छ । नाङ्गा बाबा र अन्य साधु सन्तहरुलाई दक्षिणा दिएर विदा गर्न वांकी नै रहेकोले केही रकम थप खर्च हुनसक्ने बताइएको छ ।

फागुन ११ गते आइतवार एकपाउ पेडा, एक कतारा दही र नागा बाबाको स्तरअनुसारको दक्षिणा दिइने परम्परा छ । छानिएका केही जोगीलाई वाघको छाला दिने पुरानो चलन भने केही बर्षअघिदेखि नै हटिसकेको छ ।

रातिको समयका लागि लाइटिङ्ग(उज्यालो) को व्यबस्थामा यसपटक विगतमा भन्दा कमजोरी देखिएको कोषका एक कर्मचारीले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईको संयोजकत्वमा शिवरात्रि मूल व्यबस्थापन समिति गठन भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *