बैंकहरुको बेस रेट घट्यो, हेर्नुस् कुन बैंकबाट ऋण लिँदा सस्तो ?
काठमाडौं। चालु आर्थिक वर्षको पुसमा वाणिज्य बैंकहरुको आधारदर (बेसरेट) घटेको छ। उच्च आधारदर भएका बैंकहरुको घटाएर १० प्रतिशत भन्दा कम गरेपछि बैंकहरुको औशत आधारदर घटेको हो।
बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार चालु आवको पुससम्ममा १७ वटा बैंकको आधारदर एकल अंकमा छ। १० वटा बैंकको मात्र आधारदर दुई अंकमा देखिएको छ।
बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधारदर हो। बैंकहरुले आधारदरमा निश्चित प्रतिशत प्रिमियम जोडेर कर्जाको व्याजदर निर्धारण गर्छन्।
यस अर्थमा आधारदर सस्तो भएको बैंकमा कर्जाको व्याजदर पनि सस्तो हुन्छ। बैंकहरुको वित्तीय विवरण अनुसार सबैभन्दा कम आधारदर सरकारको स्वामित्व रहेको राष्ट्रिय बाणिज्य बैंकको रहेको छ। यसैगरी स्ट्यान्डर्ड चाटर्ड, नेपाल बैंक, नविल र एभरेष्टको आधारदर सबैभन्दा कम छ।
सबैभन्दा बढि आधार दर सिभिल बैंकको छ। यस्तै एनसीसी, सिभिल, सेन्चुरी र सिटिजन्सको पनि आधारदर उच्च रहेको छ। राष्ट्र बैंकले २०६९/०७० को मौद्रिक नीतिबाट बाणिज्य बैंकमा आधार दरको व्यवस्था लागू गरेको हो। त्यसको एक वर्षपछि विकास बैंक र फाइनान्स कम्पनीमा समेत यसलाई लागू गरिएको हो।
अहिले बैंकहरुले कर्जाको ब्याजदरलाई आधार दरमा जोडिएको हुन्छ। जसले गर्दा आधार दरकै आधारमा कर्जाको व्याजदर स्वचालित रुपमा घटबढ हुन्छ।
बैंकहरुले निक्षेपमा दिने व्याजदर, संचालन खर्च जोडेर आधार व्याजदर तय गरिन्छ । बजारमा तरलताको अभाव भएपछि बैंकहरुले निक्षेपमा उच्च व्याजदर दिएसँगै कष्ट अफ फण्ड उच्च भई आधार दर बढ्ने र जसको कारण कर्जाको व्याजदर समेत बृद्धि हुन्छ।
Facebook Comment