सेक्यूरिटी प्रेस प्रकरणका मास्टर माइण्ड पौडेलको अकुत सम्पत्ति मुद्दा अख्तियारद्वारा सामसुम
काठमाडौं। सेक्यूरिटी प्रेस खरिद प्रकरणमा कमिशन मागेको अडियो टेप सार्वजनिक भएपछि तत्कालनी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिनुपरे पनि यो प्रकरणका मुख्य परिकल्पनाकार मुद्रण विभागका कार्यकारी निर्देशक विकल पौडेल भने सुटुक्क अमेरिका उडेका छन्।
सेक्युरिटी प्रेस खरिद सम्बन्धि सम्पूर्ण कागजात बनाएको मुद्रण विभागले हो। सोही विभागका प्रमुख हुन् पौडेल। यिनै पौडेलसँगको साँठगाँठमा बाँस्कोटाले ठूलो भ्रष्टाचारको काण्ड मच्चाउने अन्तिम तयारी गर्दैगर्दा अडियो टेप सार्वजनकिमात्र भएन संसदको सार्वजनिक लेखा समितिबाट सेक्युरिटी प्रेस खरिद सम्बन्धि सम्पूर्ण प्रक्रिया रोक्न सरकारका नाममा निर्देशन जारी भयो।
यी पौडेल निकै विवादित छविका व्यक्ति हुन्। मेशिन रिडेबल पासपोर्ट (एमआरपी) छाप्ने ठेक्का प्रकरणमा पनि मुछिएका पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सहयोग गरेको खुलासा भएको छ। स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यातले आफूले अवकास लिनुभन्दा १९ दिन अगाडिमात्र पौडेलको अकुत सम्पत्तिको मुद्दा मुल्तवीमा राख्ने निर्णय गराएर पौडेललाई गुन लगाएका थिए। बस्न्यात हाल आफै अख्तियारको मुद्दा खेपिरहेका छन्।
गएको बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा यो प्रकरणमा छलफल भएको थियो। र मुद्रण विभागका कार्यकारी निर्देशक पौडेललाई पनि समितिले बोलाएको थियो। समितिका सभापति भरत शाहले सेक्यूरिटी प्रेस खरिद प्रकरणमा उठेका प्रश्नको जवाफ मागेका थिए।
समितिले गरेको प्रश्नको जवाफ दिइरहेका पौडेलले नेपालले सरकार र सरकारबीचको सम्झौता (जीटूजी) मार्फत सेक्यूरिटी प्रेस खरिद गर्न लागेको जर्मनीको र फ्रान्सको कम्पनी सरकारी भएको बताए। तर, सांसदहरु भने उनको जवाफबाट सचिढिए। नेकपा सांसद विरोध खतिवडा, काँग्रेस सांसद मिनेन्द्र रिजाल, नेकपा सांसद धर्मशिला चापागाईँ, समाजवादी पार्टीका सांसद इस्तियाक राईले लगातार प्रश्न गरे। विरोध खतिवडाले प्रश्न गरे, ‘जर्मनी र फ्रान्सको कम्पनीसँग सम्झौता गर्नका लागि नेपाली अधिकारीहरु कसको खर्चमा गएका हुन्?’ उनको प्रश्नले रातो पिरो भएका पौडेललाई काँग्रेस सांसद रिजाले भने, ‘यो संसद हो, यहाँ झुटो बोल्न पाइँदैन, झुटो बोल्नु भो भने, संसदको विशेषाधिकार अनुसार जेल हुनसक्छ।’
खतिवडाको प्रश्न र रिजालको प्रष्टीकरणबाट अक्कनबक्क बनेका पौडेलले भने फ्रान्स गएको आफ्ने प्लेन टिकट उतैबाट बेहोरिएको हो। त्यसपछि धर्मशिला चापागाईँले सामान खरिद गरिने कम्पनीको पैशामा विदेश भ्रमण गर्ने पौडेलको भूमिका शंकास्पद रहेको भन्दै आजाव उठाइन्।
उनले एमआरपी छपाई प्रकरणलाई पनि स्मरण गर्दै फ्रेन्च कम्पनी ओबरथरसँग पौडेलको संलग्नता रहेको र यहाँ पनि पौडेको भूमिका शंकास्पद रहेको बताइन्। बिहीबार नै संसदको बैठक पनि भएको भन्दै लेखा समितिको बैठक लामो समय बस्न सकेन। केही दिनपछि फेरि लेखा समितिमा यो विषयले चर्काचर्की हुने सम्भावना छ।
Facebook Comment