मणिपुरको सेल्टरमा दिन बिताउँदै तेस्रो मुलुक हिँडेका २१ नेपाली युवती
काठमाडौं। अवैधानिक रुपमा तेस्रो मुलुक कामका लागि जाँदै गरेको २१ जना नेपाली महिलाहरु भारतको मणिपुरस्थित सेल्टरमा बन्द भएका छन्। अवैध रुपमा तेस्रो मुलक जान लागेको थाहा पाएपछि मणिपुर प्रहरीले गएको डिसेम्बरमा नेपाली महिलाहरुलाई पक्राउ गरेको थियो। गएको डिसेम्बर यता हालसम्म २१ जना नेपाली महिलाहरु मणिपुरको सेल्टरमा रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले जानकारी दिए।
नेपाली महिलाहरु पक्राउ परेपछि मणिपुर सरकारले दिल्लीस्थित नेपाली दूतावासमा खबर गरेको थियो। त्यसपछि पक्राउ परेका महिलाहरुको पहिचानका लागि नेपाल प्रहरीको सहयोग लिइएको ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ।
मणिपुरको सेल्टरमा रहेका २१ मध्ये १५ जना महिलाको राहदानी भेरिफिकेशन गरिसकिएको प्रवक्ता पौडेलले जानकारी दिए। उनले भने, ‘यो विषयमा छलफल गर्न आज (सोमबार) पनि केन्द्रीय जाँच ब्युरोका अधिकारी आउनु भएको थियो। हामीले २१ जना महिला नै नेपाली भएको आधारमा प्रक्रिया अगाडि बढाइरहेका छौं।’
स्रोतका अनुसार १५ जनाको भेरिफिकेशन भए पनि बाँकी ६ जनाको भेरिफिकेशन हुन बाँकी रहेकाले उनीहरुलाई नेपाल ल्याउन नसकिएको हो।
उनीहरुलाई नेपाल ल्याउन मन्त्रालयले परराष्ट्र मन्त्रालयका प्रतिनिधि, प्रहरीका प्रतिनिधि र माइती नेपाल नामक गैर सरकारी संस्थाका प्रतिनिधि रहेको एक समितिसमेत गठन गरेको थियो।
उनीहरुलाई नेपाल ल्याउने विषयमा परराष्ट्रमाफर्त समन्वय भइरहेको प्रवक्ता पौडेलले जानकारी दिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल र दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमान स्थलबाट अवैध कामदार लैजान नसकिने भएपछि दलालहरुले मणिपुर, मिजरोम, मेघालयबाट म्यानमार हुँदै नेपाली महिलाहरुलाई तेस्रो मुलुक पुर्याउने गरेका छन्।
Facebook Comment