बाँस्कोटाको सचिवालयमा अख्तियारले छापा नमारेको खुलासा, भएको के हो?
काठमाडौं। गत बिहीबार कमिशन प्रकरणमा मुछिएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिए। उनको राजीनामासँगैं सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा रहेको बाँस्कोटाको सचिवालयमा अख्तियारले छापा मारेर कागजात जफत गरेको हल्ला फैलियो। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने आयोगकातर्फबाट छापा नमारिएको जनाएको छ।
मन्त्रीको सचिवालयबाट कागजात ‘गायब’ हुनु र अख्तियारले छापा मारेको इन्कारी गर्नुले यो प्रकरणलाई रहस्यमयी बनाई दिएको छ। अख्तियार प्रवक्ता प्रदीप कोइरालाले भने, ‘अख्तियारले छापा मारेपछि त्यहाँ मुचुल्का बन्छ, घटनाको अभिलेखीकरण हुन्छ। तर, त्यो दिन त्यस्तो केही भएको छैन।’ उनले अख्तियारले आफ्नो काम कार्यविधि र ऐन नियमको परिधिमा रहेर गर्ने बताए।
बाँस्कोटाले राजीनामा दिएपछि बिहीबार ४ बजेतिर मन्त्रीको सचिवालयमा उनका सचिवालयका निजी सहयोगीहरु भने त्यहाँ गएको एक प्रहरी अधिकारीले पुष्टि गरेका छन्। उनले भने, ‘मन्त्रीज्यूले राजीनामा दिएपछि उहाँका सहयोगीहरु सचिवालयमा गएका हुन्।’
मन्त्रीका एक सल्लाहाकारले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘हामीलाई यो छापा मारेको विषयमा केही पनि जानकारी छैन।’ उनले अख्तियार वा अरु कसैले छापा मारेको भन्नेबारे आफूलाई केही जानकारी नभएको बताए।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले यो विषयमा आफूलाई केही पनि जानकारी नभएको बताए। उनले डिसी नेपालसँग भने, ‘हामी कर्मचारीले के भन्न मिल्छ र! मेरो जानकारीमा यो विषयमा केही पनि छैन।’ अहिले सो सचिवालयको अवस्था के छ भन्ने प्रश्नको पनि उनले आफूलाई केही जानकारी नभएको जवाफ दिएका थिए।
उता यो प्रकरणमा निवर्तमान सञ्चारमन्त्री बाँस्कोटालाई फोन गर्दा उनको मोबाइल बन्द रहेको थियो। सेक्यूरिटी प्रेस खरिदमा एजेण्टसँग कमिशनको मोलमोलाई गरेको अडियो टेप सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिएका थिए। यो प्रकरणमा अख्तियारमा मुद्दासमेत परेको छ। तर, उनको सचिवालयबाट कागजात पत्र गायब हुनुले यो प्रकरणलाई झन रहस्यमयी बनाएको छ।
Facebook Comment