रोनाल्डोको खेलमा शून्य दर्शक ! इन्टर मिलान र युभेन्टसको खेलमा दर्शकलाई प्रवेश निषेध !

डिसी नेपाल
१३ फागुन २०७६ १२:०६

रोम। इटलीमा कोरोनाभाइरस संक्रमणका घटनाहरु बढ्दै गएपछि घरेलु फुटबल लिग सिरी ए का खेलहरु खाली मैदानमा हुने भएका छन् । खेल मन्त्री विनसेन्जो स्पाडाफोराले सोमबारको क्याबिनेट बैठकपछि यसको जानकारी दिएका हुन् । खेलमन्त्रीले बैठकपछि देशमा कोभिड १९ का संक्रमितहरुको संख्या लगातार बढिरहेकोले उत्तरी इटलीका ६ शहरमा खेल आयोजना गर्न यसअघि नै प्रतिबन्ध लगाइसकिएको बताए ।

मन्त्री विनसेन्जोका अनुसार मन्त्रिपरिषदले खेलमा फ्यानको प्रवेश बन्द गर्ने निर्णय गरेको हो । उनले यसको असर सिरी ए का कतिवटा खेलमा हुने भन्नेबारे केही बताएनन् । इटलीमा भाइरसका कारण ५ जनाको मृत्यु भइसकेको छ । ८० जनामा संक्रमणको पुष्टि भएको छ । कोरोनाभाइरस प्रभावित उत्तरी इटलीमा ६ खेल आयोजना हुनुपर्नेछ । यीमध्ये आगामी आइतबार तालिकाको शीर्षको युभेन्टस र तेस्रो स्थानको इन्टर मिलानबीचको खेल पनि छ ।

इन्टर मिलानले पनि आगामी बिहीबार युरोपा लिग अन्तर्गत हुने हुने लुडोगोरेट्स र इन्टर मिलानबीचको खेलमा दर्शकलाई प्रवेश नदिने निर्णय गरेको छ । क्लवले एक वक्तव्य जारी गर्दै युएफा, लोम्बार्डीका क्षेत्रीय स्वास्थ्य अधिकारी र मिलान सिटी काउन्सिलको छलफलपछि यो निर्णय गरिएको जनाएको छ । यद्यपि च्याम्पियन्स लिग अन्तर्गत आज राती हुने नापोली र बार्सिलोनाबीचको खेलमा भने कुनै समस्या छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *