बीमा बजारमा विदेशी कम्पनी आउने भएपछि नेपाली कम्पनी तर्सिए
काठमाडौं। बीमा बजारमा विदेशी कम्पनीहरु आउने भएपछि नेपाली बीमा कम्पनीहरु कम्पनी तर्सिएका छन्।
संसदमा छलफलको क्रममा रहेको बीमा विधेयकमा विदेशी कम्पनीले नेपालमा व्यवसाय गर्न पाउने व्यवस्था प्रस्ताव गरेपछि यसलाई रोक्न नेपाली बिमकहरु सक्रिय भएका छन्। विदेशीसँग प्रतिस्पर्धी सेवा दिन नसकिने र नेपाली कम्पनीको व्यवसाय खोसिने भन्दै विधेयकबाट उक्त प्रावधान हटाउन लविङ सुरु गरेका छन्।
बीमा सम्बन्धी कानूनलाई संशाेधन र एकीकरण गर्न बनेको विधेयकमा केही प्रावधानसहित विदेशी बीमा कम्पनीले नेपालमा व्यवसाय गर्न सक्ने व्यवस्था गरिएको छ।
विधेयकको दफा २४ मा–‘नेपालमा इजाजत पत्र प्राप्त बीमकले स्विकार नगर्ने बीमा व्यवसाय, पुनर्बीमा व्यवसाय वा नेपालमा इजाजत प्रदान नगरिएको बीमा व्यवसायका सम्बन्धमा विदेशी बीमा कम्पनीसँग कारोबार गर्न बाधा पर्ने छैन’ भन्ने प्रावधान उल्लेख छ।
विद्यमान ऐनले विदेशी कम्पनीहरुलाई नेपालमा बीमा व्यवसाय संचालन गर्न पाउने व्यवस्था छैन।
प्रुडेन्सियल इस्योरेन्सका प्रमूख कार्यकारी अधिकृत विरकृष्ण महर्जन विद्ययेकको प्रावधानले बहुर्राष्ट्रिय कम्पनीहरुले विभिन्न कारण देखाएर आफ्नै देशका बिमा कम्पनीलाई व्यवसाय दिने जोखिम रहेको बताउँछन्।
“कुनै एउटा सर्त देखाएर आफ्नै देशको कम्पनीलाई व्यवसाय दिने चलखेल हुनसक्छ’ उनले भने, “त्यसैले यो प्रावधानलाई हटाएर नेपालको सम्पतिको बीमा नेपालमै गर्नुपर्ने व्यवस्था राख्नुपर्छ।” पुनर्बीमा व्यवसायमा भने विदेशी कम्पनीहरुसँग कारोबार गर्नुपर्ने भएपनि बीमामा विदेशी कम्पनी आवश्यक नभएको नेपाली बिमकहरुको तर्क छ।
नियामक निकाय बीमा समितिका अधिकारीहरु भने ठुला र बहुराष्ट्रिय आयोजनाका लागि यो प्रावधान राखिएको बताउँछन्। “भोलि धेरै दायित्व हुने, बहुराष्ट्रिय आयोजनाको बीमा गर्न अप्ठ्यारो नहोस् भनेर मात्र यो प्रावधान प्रस्ताव गरिएको हो” समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले भने।
हाल नेपालमा एक पुनर्बीमा सहित ४० वटा कम्पनीले बीमा व्यवसाय गर्दै आएका छन्। यसमध्ये १९ वटा जीवन र २० वटा निर्जीवन बीमा कम्पनी रहेका छन्।
नेपाल र भारतको खुल्ला सिमानाको कारण सिमावर्ती क्षेत्रहरुमा केही भारतीय कम्पनीहरुले जीवन बिमालेख बिक्री गर्दै आएका छन्। यसलाई हटाउनका लागि पछिल्ला दिनहरुमा बीमा समितिले जनचेतनात्मक काम समेत गर्दै आइरहेको छ।
Facebook Comment