प्रधानमन्त्रीले भ्रष्टाचारीलाई काखा र पाखा गरेको आरोप, समान कारवाही हुने विश्वास दिलाउन आग्रह

डिसी नेपाल
१३ फागुन २०७६ १५:०२

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विना भेदभाव भ्रष्टाचारीलाई कारवाही गर्ने सम्बन्धमा संसदलाई आश्वस्त तुल्याउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय मागेर बोल्दै नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले सरकारले गरेको बाचा र कार्यशैलीमा भिन्नता देखिएको भन्दै भ्रष्टाचार गर्दिन र हुन दिन्न भन्नेमा प्रधामन्त्रीले संसदलाई आश्वस्त बनाउनु पर्ने बताएका हुन्।

प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्ने, संविधान र लोकतन्त्रलाई खतरा पुग्ने काम नर्गेमा संसदलाई आश्वस्त गराउने विश्वासका साथ संसद सुचारु गराउन प्रतिपक्षी दल तयार रहेको उल्लेख गरे।

कांग्रेसले सेक्युरिटी प्रेस कमिसन प्रकरणका सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गरेर भ्रष्टाचारको अभियोगमा कारवाही अघि चलाउन माग गर्दै फागुन ८ गतेको संसद अवरुद्ध गरेको थियो। प्रधानमन्त्रीले संसदमा आएर मन्त्री बाँस्कोटाले कमिसनका लागि बार्गेनिङ गरेको भनिएको भिडियो सामाग्री र बाँस्कोटालाई कारवाही गर्ने प्रतिवद्धता गर्नुपर्ने माग गरेको थियो।

उनले प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्दै गर्दा मन्त्रालय भित्रैको भ्रष्टाचारले सीमा नाघेको र लाजमर्दो स्थिति श्रृजना भएको टिप्पणी गरे। आर्थिक अनियमिता भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङको काम अघि नबढाउन सरकारलाई निर्देशन दिनु “लाजमर्दो”कुरा भएको टिप्पणी उनले गरे।

उनले भने, ‘यति होल्डिङ नेपाल ट्रष्टको जमिन र विल्डिङ जसरी दिइँदै छ। अनि भनिन्छ, यसो गर्न सकिन्छ भनेर विधानमा लेखेको छ, ऐनमा लेखेको छ। त्यही ऐनलाई प्रयोग गरेको हुँ भनेर। ऐनलाई प्रयोग गरेको अर्थ यति फेला पर्ने वित्तिकै भएभरको लामो सम्बन्धको आधारबाट यतिलाई दिँदै जाने अनि कति कति दिने हो ? त्यसको पनि टुंगो छैन,’ उनले भने।

उनले बालुवाटार जग्गा प्रकरणमा प्रधानमन्त्रीले आफ्नो गुटलाई बचाउने काम गरेको आरोप लगाए।  उनले भने, ‘वालुवाटार जग्गा प्रकरणमा सरकारले अख्तियारलाई यसरी प्रभावित गर्यो, सर्वाङ्ग लाज लाग्दो स्थिति छ। विरोधी भए दोषी हुन् निर्दोष हुन् जेल जानुपर्ने। कम्युनिष्ट नै हुन् तर आफ्नो गुटका होइनन् भने तीनको बद्नाम गरिने, थरी थरीका आक्षेप लगाउने अनि सफाईको अर्को मौका पनि नहुने गरी नहुने गरी केसलाई अगाडि बढाउने। होइन आफ्नै गुटका भए जे लिएको भएपनि फिर्ता गरे पुग्छ भन्ने, यो भन्दा पराकास्टा केही हुँदैन।’

संसदको सार्वजनिक लेखा समितिले वाईडवडी जहाजबारे एकमहिना भित्र छानविन गर्न अख्तियारलाई लेखि पठाए पनि अहिलेसम्म प्रक्रिया अघि नबढेको भन्दै उहाँले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

‘आज हामीले संसदमा उभिएर भन्न आवश्यक छ। प्रधानमन्त्रीको ध्यान आकृष्ट गर्न आवश्यक छ, वाइडवडीकाबारेमा अख्तियारले चाडै केस टुंगो लगाएर दोषीहरुमाथि कारवाही प्रक्रिया प्रारम्भ गरोस्,’ उनले भने।

स्याटलाईड सञ्चालन लगायत विभिन्न योजनाहरुमा सञ्चार मन्त्रालय भित्रै खरबौको भ्रष्टाचार भइरहँदा प्रधानमन्त्रीले छानविन गर्नुको सट्टा प्रंसम्सा गर्ने गरेकोमा व्यंग गर्दै प्रधानमन्त्रीलाई कुन लोकमा हुनुहुन्छ भनी प्रश्न गरे।

‘पत्रपत्रिकामा आएको छ एउटै मन्त्रालयमा खर्वौं रुपैयाँका योजनाहरु भ्रष्टाचारका लागि तयार गरिएको थियो भनेर त्यसैले होला, तुलामा राख्दा अरु सबै एकातिर अनि सञ्चारमन्त्री अर्को तिर भनेको। सरकार कुन लोकमा हुनुहुन्छ थाहा छैन । प्रधानमन्त्री कुन लोकमा हुनुहुन्छ थाहा छैन,’ उनले भने।

उनले प्रधानमन्त्रीले जन्मदिन मनाउने शैलीको पनि आलोचना गरे। पुराना राजा मराजालो जन्मदिन मनाउने शैली सामान्य रहेको स्मरण गर्दै उनले प्रधानमन्त्रीको शैली लाई “सत्ताउन्माद ” को संज्ञा दिए।

कम्युनिष्ट सरकार अनि जनताको प्रधानमन्त्रीले राजधानीबाट केक लगेर तामझाम गरेको देख्दा सर्वसाधरण जनताले अपमानित महसुस गरेको भन्दै उनले भने, ‘यति हाल्डिङको पैसा र हेलिकोप्टरले पुर्याएको केक देख्ता अपमानित महसुस गर्यो होला । घरले सम्झ्यो होला , आज नराम्रोसंग अपमानित भएँ मेरो मेरो घरको केटोलाई स्वागत गर्न बसेको थिएँ भनेर। जन्मदिनमा ४ हजार वृद्धवृद्धालाई सारी र कोट बाड्ने कार्यक्रम थियो भनेर सुनियो, पहिले आफ्नो जन्मदिनमा केटाकेटीलाई मिठाई बाडेर चित्त बुझाउनुपर्ने पुराना राजा महाराजालाई पनि ईष्या लाग्यो प्रधानमन्त्रीज्यू।’

सरकार कम्युनिष्टको सिद्धान्त र आचरण नै बिर्सेर सत्ता उन्मादमा फस्दै गएको टिप्पणी गरे। हिजोको बैभव राजा महाराजाको नक्कलले कम्युनिष्ट पार्टीलाई गाँजेको भन्दै उहाँले शुसासन र विकासका झुटा बाचाबाट जनताहरु आक्रान्त बनेको दाबी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *