राजा वीरेन्द्रको सम्पतिमा उनकै काका मोही (श्वेतपत्र सहित)

डिसी नेपाल
१३ फागुन २०७६ २०:०१

काठमाडौं । तत्कालीन राजा वीरेन्द्रका काका हिमालय वीरविक्रम शाह उनकै सम्पतिमा मोही भएको खुलासा छ । राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका सन्ततिको नाममा रहेको सम्पतिको राष्ट्रियकरण गर्न बनेको नेपाल ट्रष्टले मंगलबार जारी गरेको श्वेतपत्रमा वीरेन्द्रका काका हिमालय शाहलाई मोही भनी उल्लेख गरिएको छ ।
ट्रष्टका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत तत्कालीन राजपरिवारको चल अचल सम्पत्ति विवरण श्वेतपत्रमार्फत सार्वजनिक गरेका हुन् ।

काठमाडौं महानगरपालिका वडा नंं १३ कालीमाटीमा ३ रोपनी ७ आना जग्गामा श्री ५ त्रिभुवन वीरविक्रम शाहका छोरा, श्री ५ महेन्द्र वीरविक्रम शाहका सहोदर भाइ, श्री ५ वीरेन्द्र वीरविक्रम शाहका काका श्री हिमालय वीरविक्रम शाह मोही कायम रहेको देखिएको छ ।

भूमिव्यवस्था ऐन २०२१ को दफा २५ (१) बमोजिम ‘कुनै जग्गावालाको जग्गा मोहीको हैसियतले कमाई आएको व्यक्तिलाई सो जग्गामा यो परिच्छेद बमोजिमको मोहीको हक प्राप्त हुनेछ’ भनी लेखिएको छ । तर, तत्कालीन राजपरिवारका सदस्य कसरी मोही हुन पुगे भन्ने श्वेतपत्रमा उल्लेख गरिएको छैन ।

नेपालका ५ राजनीतिक दलको २४ जेठ २०६० को निर्णय अनुसार तत्कालीन राजा स्वर्गीय श्री ५ वीरेन्द्र र राजपरिवारको सम्पत्ति सार्वजनिक गर्ने विषयलाई संयुक्त जनआन्दोलनका मागका रूपमा अघि बढाइएको थियो । यस्तै २०६० असारमा पाँच दलको अग्रगामी सुधारसम्बन्धी दृष्टिकोण र कार्यक्रममा राजाको सम्पत्ति नियमित रूपमा सार्वजनिक गर्ने पद्दति निर्माण गर्ने भनी निर्णय भएको थियो ।

जनआन्दाेलन सफल भए पछि २०६३ सालमा प्रतिनिधिसभाले श्री ५ को खर्च सुविधा प्रतिनिधिसभाको निर्णयबमोजिम हुने छ र निजी सम्पत्ति र आयमाथि कानुनबमोजिम कर लाग्ने छ भनी घोषणा गरेको थियो ।

तत्कालीन राजा वीरेन्द्रको परिवारका नाममा रहेको २१ हजार ५६२ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा आएको श्वेतपत्रमा उल्लेख छ । सो मध्ये सबैभन्दा बढी ४ हजार ४४२ रोपनी जग्गा काठमाडौं जिल्लामा मात्रै भेटिएको छ ।

२०६४ सालमा नेपाल ट्रष्ट बनेपछि ती सम्पत्ति राजा वीरेन्द्र र उनका परिवारका नामबाट ट्रष्टमा ल्याइएको थियो । त्यसपछि धेरैजसो काठमाडौंका महँगा ठाउँका जग्गाको पुनः लिज सम्झौता २०६६ पुस र माघमा मन्त्रिपरिषदबाट गराइएको पाइएको छ ।

दरवारको पैसा डलरमा

ट्रष्टमा तत्कालीन राजपरिवारको नामबाट आएको रकम अमेरिकी डलर एक लाख ४८ हजार ५८१ र ब्रिटिस पाउन्ड स्टर्लिङ ५० हजार १२४ खातामा रहेको पाइएको छ । ट्रष्टले विभिन्न बैंक तथा बित्तिय संस्थाको शेयर समेत खरिद गरेको छ ।

गोकर्ण रिसोर्टको भाडा अमेरिकी डलरमा

यस्तै सरकारले जारी गरेको श्वेतपत्रमा ट्रष्टको नाममा रहेको गोकर्णको भाडा अमेरिकी डलरमा तय गरेको पाइएको छ ।
मन्त्रीपरिषदकोे २०७६ मंसिर २३ गतेको निर्णय अनुसार १४ अगस्त २०५० सम्म रहने गरी गोर्णेश्वर नगरपालिकाको कित्ता नं. १४ र १५ को २ हजार ७ सय ९२ रोपनी जग्गा १ करोड ८ लाख २३ हजार २ सय ५ अमेरिकी डलरमा लिजमा दिइएको छ ।

यस्तै उक्त भाडा ७ फरक–फरक अवस्था मूल्याङ्कन गरि कायम गरिएको छ । २०२० देखि २०२२ सम्म निर्माण अवधि भनेर ३ लाख १२ हजार अमेरिकी डलर भाडा कायम गरिएको छ । यस्तै २०२३ देखि २०२७ सम्म ३ लाख २७ हजार ६ सय, ०२८ देखि ०३२ सम्म ३ लाख ४३ हजार ९ सय ८०, कायम गरिएको छ ।

हरेक ४ वर्षको फरक पारेर क्रमश ३ लाख ६१ हजार १ सय ७९ अमेरिकी डलर, ३ लाख ७९ हजार २ सय ३८ अमेरिकी डलर, र ३ लाख ९८ हजार २ सय अमेरिकी डलर वार्षिक भाडा कायम गरिएको छ । यस्तै २०४८ देखि २०५० सम्म ४ लाख १८ हजार १ सय १० अमेरिकी डलर वार्षिक भाडा कायम गरिएको छ ।

श्वेतपत्र अनुसार काठमाडौं महानगरपालिका १३ स्वयम्भु, छाउनी मार्गमा रहेको १५ रोपनि १ आना जग्गा प्रेरणा राज्यलक्ष्मी सिंहले उपभोग गरिरहेमा ट्रष्ट सञ्चालन समितिले २०७६ साउन २४ गतेको निर्णय अनुसार खालि गर्न सूचन प्रकाशित गरिसकेको जनाएको छ ।

यतिसँग प्रचण्ड, देउवा र बामदेव मुछिए !

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ३ मा संसदमा उभिएर भनेको थिए, ‘पाथीभरा, सोल्टी, दरबार अगाडि, अरु–अरु ठाउँमा ककसले दिएछ, त्यो अध्ययन गर्दैछ ।’

प्रधानमन्त्रीले भनेको अध्ययन सकिएको छ । मंगलबार नेपाल ट्रष्टले जारी गरेको श्वेतपत्रमा प्रचण्ड, देउवा र वामदेव गौतम मुछिएका छन् ।
नेपाल ट्रष्टले निर्णय गर्दा ट्रष्टमा को संरक्षक र को अध्यक्ष थिए भन्ने समेत खुलाइएको छ । जसअनुसार तत्कालीन प्रधानमन्त्रीहरू सुशील कोइराला, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड तथा तत्कालीन गृहमन्त्रीहरु बामदेव गौतम, विमलेन्द्र निधि र जनार्दन शर्मा प्रभाकरको नाम उल्लेख गरिएको छ ।

गोकर्णमा यसरी घुस्यो यति

श्वेतपत्र अनुसार तत्कालीन राजदरबारको डिपार्टमेन्ट अफ क्राउन प्रपोर्टी, रोयल प्यालेस र एलएम सुभिर ब्रदर्स नेपाल प्रालीबीच ३१ साउन २०५२ मा गोकर्ण राजनिकुञ्जको जग्गाको लिजमा दिने सम्झौता भएको थियो । निकुञ्जको २७९२–०–३–१ रोपनी जग्गामा रिसोर्ट सञ्चालन गर्न ३० वर्षका लागि लिजमा दिइएको थियो ।

गणतन्त्र स्थापनापछि राजपरिवारका सदस्यहरुको नाममा रहेका सम्पत्ति नेपाल ट्रष्टको नाममा आयो । र, ५ वैशाख २०६७ मा सुभिर ब्रदर्स र नेपाल ट्रष्टबीच मुख्य सम्झौता भयो । हो, त्यही दिन गोकर्ण रिसोर्टमा यति होल्डिङ्सको प्रवेश मात्र भएन, त्रिपक्षीय पुरक सम्झौतामा लिज अवधि समाप्त हुनु अगावै दुवै पक्षको आपसी सहमतिमा लिज अवधि नवीकरण गर्न सकिने व्यवस्था थप भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *